Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कथाः पति, पत्नी र फलानो

मनोज दाहाल- कथामा चार पात्र छन्- वाइके, उसकी पत्नी, फलानो र उसकी पनि पत्नी। कथामा फलानोकी पत्नीको भूमिका गौण छ। मुख्य भूमिका वाइके, उसकी पत्नी र फलानोको छ। वाइके र उसकी पत्नीबीचको नौ वर्ष लामो वैवाहिक जीवन फलानोकै कारण कसरी तहसनहस भयो? कथा यसरी सुरु हुन्छ :

२०६८ असार १५।
‘तपाईं आफ्नी स्वास्नी तह लगाएर राख्न सक्नुहुन्न? ऊ जहिल्यै मेरो बुढोलाई आपत्तिजनक एसएमएस पठाउँछे, आइ लभ यु, डार्लिङ, मिस यु, केके लेख्छे। तपाईंकी स्वास्नीले गर्दा मेरो त घरै बिग्रिने भयो, ऊ पहिल्यैदेखि मेरो बुढोको गर्लफ्रेन्ड रहिछ, यस्तो थाहा पाएकी भए म बिहे नै गर्ने थिइनँ।’

यो दिन वाइके कार्यालय जान तयार भइरहँदा उसको ल्यान्डलाइनमा अचानक यस्तो फोन आएको थियो। थाहा पाइहाल्यो- लाइनमा उतापट्टि फलानोकी श्रीमती थिई। ऊ खङ्रंग भयो। कहिल्यै नचिनेकी महिलाले पत्नीको नाम लिँदै उसलाई रुखो स्वर गर्दै थिई। साढे आठ वर्षदेखि वाइकेको छातीमा घाउ बिझेको थियो। पत्नी र फलानोबीच झाँगिएको सम्बन्धको घाउ। लानोकी पत्नीले नै फोन गरेपछि वाइके टुंगोमै पुग्यो- उसले जे शंका गरेको थियो, त्यो साँचो रहेछ । लामो खटपटले वाइके र उसकी पत्नीको सम्बन्ध यसै कमजोर भइसकेको थियो। उसलाई लाग्यो- अब डिभोर्सबाहेक अरू विकल्प छैन।

२०५९ फागुन २६।
यो दिन वाइकेको बिहे भएको थियो । ऊ काठमाडौंबाट बिहे गर्न गाउँ गएको थियो। सुरुमा कुरा चलेको केटीसँग केके नमिलेर बिहे हुन नसकेपछि हतारहतारमा उसको अहिलेकी पत्नीसँग बिहे भएको थियो। ऊ पनि अहिले त भूपू भइसकी।
खुब खुसी थियो वाइके। पत्नी पनि खुसी देखिन्थी । वाइकेलाई लागेको थियो, जीवन यति रोमाञ्चक हुने थाहा पाएको भए अलि पहिले नै बिहे गरे पनि हुने रहेछ। उसका केही महिना केही दिनजसरी बिते ।

केही महिनापछि पत्नीले भनी, ‘बिहेभन्दा अघि मेरो फलानोसँग सम्बन्ध थियो। हाम्रो सम्बन्ध त साधारण हो तर मान्छेहरूले धेरै कुरा काटे।’ वाइकेलाई त्यसबेला आफ्नी पत्नी विचरीजस्तो लागेको थियो। उसले मन फराक पारेको थियो- उमेर पुगेका, बिहे नभएका केटाकेटीबीच सम्बन्ध हुनु कुन नौलो कुरा भयो र!

वाइकेलाई भने बिहेअघि पनि केटीहरूसँग लाज लाग्थ्यो। उसले जीवनमै सिधा आँखाले हेरेको पहिलो महिला उसकी पत्नी नै थिई। लभसभको चक्करमा ऊ कहिल्यै परेन । तैपनि छाती ठूलो पारेर उसले पत्नीलाई भन्यो, ‘पुराना कुरा बिर्सिदेऊ, अब हामीले एउटा बेग्लै संसार बसाउनुपर्छ, वास्तविकता यही हो।’ भन्न त भन्यो तर त्यही दिनदेखि उसलाई पत्नीले लुकीलुकी कतै फोन/एसएमएस गरेको आभास हुन थाल्यो। उसले पत्नीका गतिविधिमा अलि ध्यान पनि दिन थालेको थियो।
हो रहेछ । उसकी पत्नी फलानोलाई दैनिक आठदस चोटि नै फोन/एसएमएस गर्दिरहिछ। फलानो र उसकी पत्नी रातबिरात, दिउँसोबिहान केही नभनी फोन/एसएमएसमा भिडिरहँदा रहेछन्।

वाइकेले धेरैचोटि पत्नीलाई सम्झायो, ‘तिमी अब फलानोलाई फोन नगर, एसएमएस नपठाऊ, ऊबाट टाढै बस।’ पत्नी पनि मुखेन्जी त हुन्छ भन्थी। फलानोको एसएमएस पाएपछि भने उसको मन पनि चुमचुम गरिहाल्दो रैछ। एसएमएस शृंखला जारी रह्यो ।


२०६१ असोज २३।

यो दिन वाइकेको पहिलो छोरा जन्मेको थियो। केही दिन त छोराको हेरचाह, न्वारान र त्यसकै सेरोफेरोमा बित्यो। वाइके र उसकी पत्नी दुवै रमाएका थिए। व्यस्त पनि थिए । केही महिनामै फलानो र उसकी पत्नीको एसएमएस दोहोरी सुरु भइहाल्यो । राति, दिउँसो, बिहान जुनसुकै बेला पत्नीलाई फलानोको एसएमएस आउने थाहा पाएपछि वाइके रन्थनिन थाल्यो। पत्नीलाई सम्झाउँथ्यो। ऊ भन्थी- हामी दाजुबहिनी हौं । लुकीछिपी उनीहरूको एसएमएस पढ्दा वाइकेलाई रत्तिभर विश्वास लाग्दैन थियो। उनीहरूका शब्द लोग्नेस्वास्नी जत्तिकै निकट थिए ।

उसलाई भित्रभित्रै आफूचाहिँ बाहिरी मान्छे, आफ्नी पत्नी र फलानोचाहिँ लोग्नेस्वास्नीजस्तो लाग्न थाल्यो। टाउको बेस्कन दुख्न थाल्यो । मनमा हुन्डरी चलेको थियो। सुनाउने मान्छे कोही थिएन । एक दिन पत्नीलाई भन्यो, ‘एसएमएस पठाऊ, मेरो कुनै आपत्ति छैन, तर त्यहाँ प्रयोग हुने शब्दहरूसँग मलाई आपत्ति छ।’ उसले त्यो दिन पत्नीलाई धेरै बेरसम्म खेरिरह्यो, ‘फलानोसँग दाजुको सम्बन्ध हो भन्छौ तिमी, एसएमएसै पिच्छे आइ लभ यु, डार्लिङ, किस यु, मिस यु लेख्ने कस्तो दाजुबहिनीको सम्बन्ध हो?’

पत्नीले केही होइन भनिरही। भन्थी, ‘कस्तो शंकालु मान्छे, दाजुबहिनीको सम्बन्धमा पनि विश्वास नगर्ने!’ फलानोसँग वाइकेकी पत्नीको सम्बन्ध भने बिस्तारै झ्यागिँदै गयो । ऊ कार्यालय गएको बेलामात्र होइन, घरमै बसेका बेला पनि उसकी पत्नी फलानोसँग फोनमा लामोलामो कुरा गर्न थाली । वाइकेले घरमा फोन जोडेको थियो। त्यसको बिल जहिल्यै बढीबढी आउन थाल्यो। डिटेल्सबाट थाहा पायो, उसकी पत्नी फलानोलाई लामोलामो एसटिडी कल गर्दिरैछे। रातबिरात, जुनसुकै बेला। उनीहरू घन्टौं फोनमा बिताउँथे ।

यसैबीच फलानो एसटिडीबाट लोकल नम्बरमै आइपुग्यो, सरुवा भएर। त्यसपछि वाइकेको ल्यान्डलाइन बिल अचानक ओर्लियो। फलानोसँग उसकी पत्नीको सम्बन्ध भने फोन/एसएमएसबाट एक कदम अगाडि बढ्यो। उनीहरूबीच नियमित भेटघाटै हुन थाल्यो । वाइकेलाई छिमेकीले भन्न थाले, ‘तिम्रो घरमा त दिउँसोदिउँसो एउटा केटा बाइक लिएर आउँछ र दिनभरि बसेर जान्छ।”हामी उनीहरूलाई दिनभरि छतमा जिस्किएको देख्छौं।’ बैंकमा काम गर्ने फलानो मार्केटिङको बहानामा वाइकेको घर आउँदोरहेछ र दिनभरि बसेर जाँदो रहेछ । उसको टाउको झनै रनन्न हुन थाल्यो। लामो समयदेखि शंका गर्दै आएको फलानोको पत्नीसँग नियमित उठबस नै हुन थालेको थाहा पाएपछि वाइकेको निद्रा हरायो । यसैबीच फलानोको बिहे भयो ।

वाइकेलाई लाग्यो, अब त मेरो घर सुध्रेला। ‘बिहे भइसकेपछि त फलानोले मेरी श्रीमतीलाई आइ लभ यु डार्लिङ, मिस यु भनेर एसएमएस पठाउँदैन कि!’नभन्दै एकदुई महिना एसएमएसको भोल्युम निकै पातलो भयो । वाइकेको आशा लामो टिक्न भने सकेन। फेरि एसएमएस दोहोरी सुरु भइहाल्यो, पुरानै गतिमा ।


२०६६ साल जेठ २८।
यो दिन वाइकेको कान्छो छोरा जन्मेको थियो। वाइके श्रीमती स्याहार्थ्यो, बच्चाको हेरचाहमा व्यस्त हुन्थ्यो। अब त आफ्नी पत्नीसँग फलानोको सम्बन्ध टुंगिएला कि भन्ने आशा गर्थ्यो । यसैबीच वाइके परिवार धोबीघाटको डेराबाट कपनको घरमा सर्यो। आफू, पत्नी र छोराहरूको भविष्यका लागि एउटा घर आवश्यक छ भन्ने ठानेर उसले ऋणपान गरेरै भए पनि बासको प्रबन्ध गर्यो ।

वाइकेले बच्चा स्याहार्यो, पत्नी स्याहार्यो, बासको प्रबन्ध गर्यो। घर स्याहार्ने उसको प्रयास भने सफल हुन सकेन। उसकी पत्नी र फलानोबीच फोन र एसएमएसको दोहोरी जारी नै रह्यो । आफू कार्यालय गएका बेला उसकी पत्नीलाई भेट्न फलानो घरमै आइरहने वाइकेले थाहा पाइरह्यो । तैपनि वाइके घर भाँड्न नदिने प्रयासमै लागिरह्यो। दुवै छोरा हुर्कंदै थिए।

वाइके र पत्नीको सम्बन्ध भने कसरी चर्किसकेको थियो भने उनीहरू एउटै घरमा पनि बेग्लै कोठामा बस्न थालेका थिए। औपचारिकता बाहेक अरू बोलचाल हुन्थेन। भेट हुँदा आँखा तरेर हेर्थे। सम्बन्धको सबै रस निखि्रसकेको थियो । यहीबीच २०६८ असार १५ आयो जुन दिन फलानोकी पत्नीले वाइकेलाई फोन गरी र ‘आफ्नी पत्नी सम्हालेर राख्न’ सम्झाई।

२०६८ साउन १४।
पत्नी र फलानोको सम्बन्धले आजित भइसकेको वाइकेले यो दिन पशुपति मन्दिरमा फलानोलाई भेट्यो र भन्यो, ‘तपाईं र मेरी श्रीमतीको एसएमएस दोहोरीले म वाक्कै भइसकेँ। तपाईंहरू दुईजना आइ लभ यु र डार्लिङको सम्बन्धबाट धेरै अगाडि जानुभएको हो भने मेरो भन्नु केही छैन, स्विकार्नुस् मेरी श्रीमती। मलाईचाहिँ छुट्कारा चाहियो। दुइटी श्रीमती अरूका पनि हुन्छन्, लानुस्। लगेर सँगै राख्नुस्।’

फलानोले उल्टै वाइकेलाई सम्झायो। भन्यो, ‘लौ, के कुरा गर्नुभएको, वाइकेजी? तपाईंकी श्रीमती त मेरी छिमेकी बहिनी हुन्, के अरूको लहैलहैमा लाग्नुभएको?’ विचरा वाइकेले कसरी पो विश्वास गरोस्! उसले झन्डै नौ वर्षदेखि पत्नीको व्यवहार झेल्दै आएको थियो। फलानो र आफ्नी पत्नीको फोन/एसएमएस दोहोरीले ऊ अब पागलै हुनमात्र बाँकी थियो।

वाइकेले फलानोलाई भन्यो, ‘तपाईंहरू दुईलाई बिहेअघिदेखि नै सबैले शंका गरिआएका रहेछन्, अहिले आएर मैलेमात्र कसरी पत्याउने? ठिक छ, तपाईंहरू दाजुबहिनी नै हो भने हाम्रो घरमा आउनुस् र मेरी श्रीमतीको टाउकोमा हात राखेर ‘तिमी मेरी बहिनी हौ’ भनिदिनुस् न त!’

फलानोले भन्यो, ‘हुन्छ, यत्ति गर्न मलाई कुनै आपत्ति छैन।’ घर सप्रेला कि भन्ने झिनो आशा वाइकेको मनमा पलायो । तर, त्यसपछि फलानो कहिल्यै देखिएन । फोन/एसएमएस दोहोरी भने चलिरह्यो।

२०६८ भदौ ५।
यो दिन वाइकेकी पत्नीको जन्मदिन परेको थियो। पत्नीसँग नबोलेको महिनौं भइसके पनि उसलाई लाग्यो- आजकै शुभदिनले हाम्रो जीवनको तिक्तता मेटिहाल्छ कि! उसले अझै एकबाजी प्रयास गर्ने विचार गर्यो । त्यही आशामा उसले पत्नीलाई भन्यो, ‘ह्यापी बर्थडे टु यु।’

एउटै घरमा सँगै बस्ने पत्नीलाई एसएमएस पनि पठायो, ‘तिमीलाई जन्मदिनको धेरैधेरै शुभकामना। जे हुनु भइसक्यो, आजको दिनले हामी दुवैलाई सँगै मिलेर बस्न प्रेरणा देओस् भन्ने प्रार्थना गर्न चाहन्छु।’ पत्नीको जन्मदिनको तीन दिनअघि वाइकेलाई लागेको थियो, अब पत्नीसँग एउटै घरमा बस्न सकिँदैन। छुट्टिनुबाहेक विकल्प छैन। तैपनि उसले पत्नीसँग अन्तिम संवाद गरेको थियो, ‘अब जे गर्ने भए पनि निर्णय गरौं। कि छुट्टिऔं, कि मिलेर सँगै बसौं। म त भन्छु- हुने हुनामी भइसक्यो, पुराना कुरा सबै बिर्सिदिऊँ, यी दुईजना लालाबालाकै लागि भए पनि साझा समझदारीमा सँगै बसौं।’ पत्नी केही बोलिन। उसले बोलुन्जेल चुप लागेरै सुनिरही।

वाइकेले भन्यो, ‘सँगै बस्न तिमी मान्दिनौं भने भदौ १७ गते म घर छाड्छु।’ उसले पत्नीलाई दुई साताको म्याद दिएको थियो । पत्नीले यत्तिचाहिँ भनी, ‘तपाईंको घर हो, किन छाड्नुहुन्छ? मै छाड्दिउँला नि!’ सँगै मिलेर बस्न सकिने/नसकिनेबारे पत्नीले एकै शब्द नओकलेपछि वाइके झनै दिग्दार भएको थियो। तैपनि उसले जन्मदिनमा पत्नीलाई फकाउने अन्तिम प्रयास गर्यो ।


२०६८ भदौ १५।
यो दिन वाइके कार्यालय गएको मौकामा पत्नीले घर छाडेकी थिई । बेलुका ऊ घर आउँदा पत्नी थिइन। कहिलेकाहीँ राति ढिला घर आउँथी। कम्प्युटर सिक्दैछु भन्थी। त्यो दिन भने ऊ अबेरसम्म पनि आइन । वाइके झनै रन्थनियो। पत्नी खोज्न पुलिस गुहार्यो। सासुससुरालाई फोन गर्यो। सासुससुराले उल्टै हप्काए, ‘हामीले तिमीलाई छोरी दिएका हौं, तिमीले नै खोज्नुपर्छ।’पछि थाहा पायो, सासुससुरा भने छोरीसँग निरन्तर सम्पर्कमै रहेछन्।

पत्नीले घर छाडेपछि दुईदुई बच्चाको एक्लै पालनपोषण गर्न नसकेर वाइकेले कान्छो छोरालाई बुबाआमासँग गाउँ पठाइदियो। काठमाडौंमा पढ्दै गरेको जेठो छोरालाई पनि भाइको डेरामा राखिदियो। ऊ पनि घरमा ताला लगाएर कहिले भाइहरू, कहिले दिदीहरू, कहिले साथीहरूकहाँ गएर रात गुजार्न थाल्यो । नौवर्षे सम्बन्धको सबैभन्दा तनावपूर्ण दिनहरू थिए ती।

अलि दिनपछि पत्नीले वाइकेलाई एसएमएस गरी, ‘मेरा दुई छोराको बाउ तपाईं नै हो भन्ने प्रमाण के छ?’ ऊ अब फलानोसँग आफ्नो सम्बन्धबारे खुल्न थालेकी थिई। वाइकेलाई हेप्न थालेकी थिई ।

वाइकेलाई लाग्यो, अब कानुनी रूपमै छुट्टिनुबाहेक अरू विकल्प छैन। फलानोसँगको सम्बन्धमा गहिरोसँग डुबेकी उसकी पत्नी पनि बिस्तारै डिभोर्सकै बाटो खोज्न थालेकी छ भन्ने वाइकेले सुन्न थालेको थियो । डिभोर्सको कानुन धेरै कडा थियो वा अर्को शब्दमा भनुँ, धेरै नरम थियो। लोग्नेमान्छेलाई धेरै कडा, स्वास्नीमान्छेलाई धेरै नरम । पत्नीले चाहे एकै दिनमा डिभोर्स गर्न मिल्ने नरम कानुन। पतिले अदालतमा डिभोर्सको निवेदनै दिन नपाउने कडा कानुन । वाइके पति थियो अर्थात ऊ जति नै पीडित भए पनि एक्लै डिभोर्स गर्न पाउँदैन थियो।

धन्य! उसकी पत्नीले पनि डिभोर्स नै चाहेकी थिई । एक दिन वाइके र उसकी पत्नी सिनामंगलको एउटा रेस्टुराँमा भेटे। पत्नीले भनी, ‘म डिभोर्स दिउँला, कति पैसा दिनुहुन्छ?’वाइके पत्नीलाई डिभोर्सवापत साढे तीन लाख अंश दिन राजी भयो।

२०६८ पुस १८।
यो दिन वाइके र उसकी पत्नीको डिभोर्स भएको थियो । अघिल्लो दिन पत्नीले काठमाडौं जिल्ला अदालतमा डिभोर्सको मुद्दा हालेकी थिई। साढे तीन लाख बुझी र कागजमा दस्तखत गरिदिई । अदालतले वाइके र उसकी पत्नी सँगै बस्न नसक्ने भएकाले सम्बन्ध विच्छेद भएको फैसला सुनाइदियो । डिभोर्सको चार दिनअघि मैले भेट्दा वाइके निराश, दुखी र अवशादले भरिएको देखिन्थ्यो। उमेरभन्दा कम्तिमा पाँच वर्ष बुढो भएको थियो। नौ वर्षको सम्बन्धले विचरालाई गाल्नुसम्म गालेको थियो । झुस्स दारीजुँगा पालेको थियो । जीवनमा उसले एउटै स्वास्नीमान्छेसँग सम्बन्ध जोडेको थियो। त्यही तिक्ततामा जीवनको महत्वपूर्ण समय गुजारेको थियो ।

वाइकेले मलाई भन्यो, ‘बुझ्नुभयो, यी स्वास्नीमान्छेको केही भर हुँदैन रहेछ, थुइक्क!’म हाँसेमात्र ।

डिभोर्सको एक महिनापछि बानेश्वरमा भेट्दा भने वाइकेको अनुहारमा एउटा चमक थियो। एक महिनाअघि भेटेभन्दा त कति फरक, कति। दारीजुँगा काटेर ऊ अर्कै देखिएको थियो। ह्यान्डसम । मलाई देखेर ऊ मुस्काएको थियो । हामी बबरमहलसम्म हिँड्दै आयौं, सँगै चिया खायौं र एकछिन बात मार्यौं। जेठो छोरालाई पनि उसले बुबाआमासँग गाउँ नै पठाइदिएछ। एक्लै कसरी केटाकेटी हेरोस् विचरा !

कपनको घर बेचेर सबै ऋण तिरिदिएछ। अहिले ऊ कहिले भाइ, कहिले दिदी र कहिले साथीहरूको कोठामा रात गुजार्दो रहेछ। मान्छे भने फ्रेस देखिन्थ्यो । मैले जिस्क्याएँ, ‘फेरि बिहे गर्ने होइन त?’जवाफमा वाइके मुस्कायो। अग्लो र पातलो ज्यानको ऊ मुस्काउँदा अझ ह्यान्डसम देखिएको थियो ।

श्रोत: नागरिक
आवरण कार्टुनः न्यू इण्डियन एक्सप्रेसबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: