Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

छाेरी जे गर्न पनि सक्छन्

कुसुम केसी

हाम्रो समाजमा छोरीहरूले गर्भैदेखि विभेद भोग्नुपर्छ । गर्भावस्थामै लिंग पहिचान गरी गर्भपतन गराउनाले कति छोरी जन्मनै पाउँदैनन् । जन्मिएका छोरीहरूलाई पनि हुर्काउँदैदेखि विभेद गरिन्छ । एउटा बनिबनाउ ‘छोरी चरित्र’ भर्न खोजिन्छ । खेलौनाका रूपमा पुतली र शृङ्गारका सामग्री दिइन्छ । छोरालाई भने फुटबल, गाडी, रेलजस्ता सामग्री दिइन्छ । छोरीलाई चुलोचौकोस, घर गृहस्थी र खेतीपातीका काममा मात्र सीमित गराइन्छ ।

कति अभिभावक छोरीलाई सरकारी विद्यालय भर्ना गर्छन्, छोरालाई निजीमा पढाउँछन् । अर्काको घरमा जाने भन्दै छोरीको पढाइमा खासै चासो नदिनेको जमात अझै ठूलो छ । घरको आर्थिक जिम्मेवारी छोराको काँधमा सुम्पनुपर्ने भन्दै छोराको शिक्षादीक्षामा भने जोड दिइन्छ । यसरी सुरु भएको विभेदले ती छोरीलाई बुहारी र आमा हुँदा पनि पछ्याइरहन्छ । अझ बिहे गरेर कलिलैमा जिम्मेवारी बहन गर्दा विभिन्न शारीरिक, मानसिक, सामाजिक तथा यौनज्यन्य हिंसाको सिकार हुनु त परेकै छ ।

छोरीहरूलाई आत्मविश्वास, आत्मनिर्भरताको दृष्टिकोणले कहिल्यै राम्ररी हेरिएन । सधैं एउटा कमजोर वर्गका रूपमा ठानियो । कुनै सामाजिक निर्णय लिने क्रममा पनि महिलाहरू कम सहभागी हुन्छन् । उनीहरूको सुनुवाइ कम हुन्छ । र उनीहरूका समस्या न्यून सम्बोधन हुन्छन् । एकल, असहाय, अपाङ्गता भएका र पिछडिएका क्षेत्रका महिलाको अवस्था झन् नाजुक छ । यही कारण महिला हिंसा, किशोरी बलात्कार, दुर्व्यवहार, शोषण, हेपाइ, यौनजन्य हिंसा, यातना, दबाबका घटनामा कमी आउनसकेको छैन । ओरेक नेपालद्वारा प्रकाशित तथ्यांक अनुसार गत असारमा मात्रै महिला हिंसाका १ सय २१ घटना भए । तिनमा घरेलु हिंसाका ५७, बलात्कारका २७, सामाजिक हिंसाका १४ घटना छन् । यसैगरी हत्याका १०, यौन दुर्व्यवहारका ६, बलात्कार प्रयासका ३, मानव बेचबिखनका २ घटना छन् । र एक जनाले लैंगिक हिंसाका कारण आत्महत्या प्रयास गरिन् भने अर्की एकजना अनलाइनमर्फत हिंसामा परिन् ।

खासमा किन भइरहेका छन्, दिनहुँ यस्ता घटना ? निर्मला पन्तको हत्या भएको एक वर्ष बित्दा पनि अपराधी पत्ता लगाउन किन नसकेको ? यो ढिलासुस्ती कहिलेसम्म ? हाम्रो देशमा कानुन कार्यान्वयनको फितलो अवस्थाले यस्तो स्थिति आएको हो । यस्तै दण्डहीनताकै कारण कैयौं छोरीहरू घरबाट बाहिर निस्कँदा त्रासमा रहन बाध्य छन् । एउटी आमा विद्यालय गएकी छोरी घर फर्केर नआउन्जेल ढुक्क हुन सक्दिनन्, मनमा अनेकौं डर पालेर बस्न बाध्य हुन्छिन् । 
छोरीहरू कदापि कमजोर जन्मँदैनन् । कमजोर त हाम्रो हेर्ने नजर हो । राष्ट्रसंघले दिगो विकास एउटा लक्ष्य लैंगिक समानता र दिगो विकासलाई मानेको छ । तर कतिपय कागजी अधिकार पाइसक्दा पनि हाम्रा महिलाको समस्या उस्तै छ ।

विभिन्न निकाय तथा संघ–संस्थाले सञ्चालन गरेका महिला तथा किशोरी सशक्तीकरणका कार्यक्रमले यस्तो विभेद केही हदसम्म न्यून भए पनि त्यो पर्याप्त छैन । छोरीहरूलाई सीपमूलक शिक्षा, जीवन उपयोगी तालिम, आत्मसुरक्षा र साइबर सुरक्षाको प्रशिक्षण धेरैभन्दा धेरै दिन अझै आवश्यक छ । उनीहरूलाई नेतृत्व विकासमा समावेश गरी शारीरिक, मानसिक, आर्थिक र सामाजिक रूपमा सक्षम बनाउनुपर्ने खाँचो छ ।

आत्मनिर्भर, सक्षम र सबल बनेर समाजलाई देखाउन ‘छोरी सक्छिन्’ भन्न आमचेतना जरुरी छ । आफूलाई परेको हरेक चुनौती र समस्या समाधानका निम्ति उपयुक्त विकल्प खोज्न छोरीले सक्छिन् भन्ने आमअनुभूति हुन आवश्यक छ । सही रूपमा सबलीकरण भएमा वा गरिएमा आफ्नो धारणा/विचार पोख्न छोरी सक्छिन् । दुर्व्यहार र दुस्साहस विरुद्ध आवाज निकाल्न छोरी सक्छिन् । अन्याय र अत्याचार विरुद्ध वकालत गर्न छोरी सक्छिन् । आत्मविश्वास, आत्मक्षमता, आत्मबल र आत्मसम्मान वृद्धि गर्न छोरी सक्छिन् ।

कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: