काठमाडौंः ओमानमा जारी पाँच देश सम्मिलित टी–२० क्रिकेट सिरिज अन्तर्गत टेष्ट राष्ट्र आयरल्याण्ड विरुद्धको खेलमा पनि नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपालले दोस्रो ओभरको चौथो बलमै महत्वपूर्ण सफलता पाएको छ ।
नेपाललाई पहिलो विकेट सन्दीप लामिछानले दिलाए । उनले आफ्नो पहिलो ओभरको चौथो बलमा आयरल्याण्डका विष्फोटक ब्याट्सम्यान केविन ओब्रायन (५) लाई आउट गर्न सफल भए । ब्रायनले अघिल्लो खेलमा हङकङविरुद्ध १२४ रन बनाएका थिए ।
आफ्नो पहिलो खेलमा हङकङलाई र दोस्रो खेलमा नेदल्याण्ड्सलाई समान ४ विकेटले हराएको नेपालले आज आयरल्याण्डसँग खेलिरहेको हो ।
आयरल्याण्डले प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित हात पारेको छ ।
टेष्ट वरीयताको १२औंँ र एक दिवसीय वरीयताको ११ औंँ स्थानमा रहेको आयरल्याण्ड टी–२० को वरीयतामा भने १५औं स्थानमा छ ।
नेपाल र आयरल्याण्डले टी–२० क्रिकेटमा यसअघि एकपटक मात्र खेलेका छन् ।
सन् २०१५ मा भएको त्यो खेलमा नेपाल आयरल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।
आज नेपालले प्लेइङ ११ मा २ खेलाडी परिवर्तन गरेको छ । नेपालले आज इशान पाण्डे र सन्दीप जोरालाई प्लेइङ ११ मा स्थान दिएको छ । उनीहरु पवन सराफ र रोहित कुमार पौडेलको स्थानमा प्लेइङ ११ मा अटाएका हुन् ।
नेपालको प्लेइङ ११ः पारस खड्का, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, अभिनाश बोहरा, सन्दिप जोरा, करण केसी, सन्दीप लामिछाने, इशान पाण्डे, ललित राजवंशी र सोमपाल कामी ।