काठमाडौंः ओमानमा जारी पाँच देश सम्मिलित टी–२० क्रिकेट सिरिजमा टेष्ट राष्ट्र आयरल्याण्डले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनायो ।
उसका लागि पउल स्टर्लिङले ५९, एन्डी बलबर्नीले ३८, स्टुअर्ट थोम्पसनले नटआउट २१ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा सन्दीप लामिछाने, अभिनाश बोहराले २–२, यस्तै करण केसी र ललित नारायण राजवंशीको नाममा एक–एक विकेट रह्यो ।
आफ्नो पहिलो खेलमा हङकङलाई र दोस्रो खेलमा नेदल्याण्ड्सलाई समान ४ विकेटले हराएको नेपालले आज आयरल्याण्डसँग खेलिरहेको हो ।
आयरल्याण्डले प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित हात पारेको छ ।
टेष्ट वरीयताको १२औंँ र एक दिवसीय वरीयताको ११ औंँ स्थानमा रहेको आयरल्याण्ड टी–२० को वरीयतामा भने १५औं स्थानमा छ ।
नेपाल र आयरल्याण्डले टी–२० क्रिकेटमा यसअघि एकपटक मात्र खेलेका छन् ।
सन् २०१५ मा भएको त्यो खेलमा नेपाल आयरल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।
आज नेपालले प्लेइङ ११ मा २ खेलाडी परिवर्तन गरेको छ । नेपालले आज इशान पाण्डे र सन्दीप जोरालाई प्लेइङ ११ मा स्थान दिएको छ । उनीहरु पवन सराफ र रोहित कुमार पौडेलको स्थानमा प्लेइङ ११ मा अटाएका हुन् ।
नेपालको प्लेइङ ११ः पारस खड्का कप्तान), दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, अभिनाश बोहरा, सन्दिप जोरा, करण केसी, सन्दीप लामिछाने, इशान पाण्डे, ललित राजवंशी र सोमपाल कामी ।