Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भीषण बर्षा र हावाहुरीले धानबालीमा क्षति

चितवनः मंगलबार बेलुका आएको भीषण हावाहुरी र बर्षाका कारण चितवनका अधिकांश क्षेत्रमा धानबालीमा क्षति पुगेको छ । बाला लागेर झुल्न लागेको धानमा हावाहुरी र बर्षा एकैपटक आउंँदा ठूलो क्षति पुगेको हो ।

जिल्लाका अधिकांश क्षेत्रमा यसको असर परे पनि मुख्यतः धानको पकड क्षेत्र पूर्वी चितवनका धानको बोट र बाला हावाहुरी र बर्षाले झारेको छ । सबैजसो किसान दशैंको टीकाको दिनमा व्यस्त भएपनि भोलीपटक धानबारीमा गएर हेर्दा अधिकांश धानका बोट कामनै नलाग्ने गरी ढलेको उनीहरु बताउंँछन् ।

पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर १, देखि ६ वडामा बाला झुलेको धानबालीमा हावा र बर्षाका कारण बोट र बाला झरेको स्थानीय कृषक अगुवा धर्मराज कंडेलले बताए । ‘अन्य वडामा पनि असर परेको छ,उहांँले भन्नुभयो, मेरोपनि आधा विघा धानमा क्षति भएको छ ।’ उनको जस्तै अन्य किसानको पाक्न लागेको धानमा क्षति पुगेको छ । राप्ती नगरपालिका वडा नम्बर ६ का दिपक त्रिपाठीको पनि एउटा धान ठाडो छैन । ‘धान पनि सबै ढल्यो, बालापनि काम लाग्ने अवस्थामा छैन’ उनले भने ।

राप्ती नगरपालिका लगायत रत्ननगर नगरपालिकाका अधिकांश झुल्न लागेका धानमा हावाहुरी धान ढलाएर सोत्तर पारेको छ ।

तर पूर्वी चितवनमा भन्दा पश्चिम चितवनमा केही ढिला धान रोप्ने गरिएकोले त्यस्तो क्षति नभएको भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चित्रसेन अधिकारीले बताए । कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लामा गरिमा, गोरखनाथ, युएस ३१२ जातका आयातीत हाइब्रिड र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावा मन्सुली धान बढी क्षेत्रफलमा कृषकले लगाउने गरेका छन् ।

गत वर्ष धान एक लाख १९ हजार ७०० मेट्रिकटन र चैते धान २६ हजार मेट्रिकटन उत्पादन भएको कार्यालयले जनाएको छ । यस वर्ष पाँच हजार हेक्टरमा चैते धान लगाइएको थियो भने वर्षे धान २८ हजार ५०० हेक्टरमा लगाइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: