काठमाडौंः पाँच देश सम्मिलित टी–२० क्रिकेट सिरिज अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको खेलमा घरेलु टिम ओमान ७ विकेटले विजयी भएको छ ।
नेदरल्याण्ड्सले दिएको ९५ रनको समान्य लक्ष्य ओमानले १५.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका लागि अकिव लायसले ४४, खवर अलिले २०, आमिर कलीमले नटआउट १५ रन बनाए ।
बलिङमा नेदरल्याण्ड्सका पीटर सीलारले २ र पल भ्यान मेकिरेनल १ विकेट लिए ।
यसअघि, टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले १५.३ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।
उसका लागि म्याक्स ओवाडले २४, एन्टोनियस स्टालले १९, कोलिन एकरम्यानले १५, स्कट एडवर्ड्सले १३ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा ओमानका खवर अलिले ‘ह्याट्रिक विकेट’सहित ४ विकेट हात पारे । उनले ३.३ ओभरमा ४ विकेट लिएर १६ रन दिए । अलिले ९.१, ९.२ र ९.३ ओभरमा आफ्नो ‘ह्याट्रिक विकेट’ पूरा गरे ।
‘ह्याट्रिक विकेट’ उनले नेदरल्याण्ड्सका कोलिन एकरम्यान, एन्टोनियस स्टाल र रिलोफ भान डरलाई आउट गरेका हुन् । अलि ओमानबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘ह्याट्रिक विकेट’ लिने पहिलो क्रिकेटर हुन् ।
यस्तै ओमानका कप्तान जीशान मकसूदले ३ ओभरमा ७ रन दिएर ४ विकेट लिए । अमिर कलील र मोहम्मद नदीमको नाममा एकएक विकेट रह्यो ।
यसअघि आजै भएको पहिलो खेलमा नेपालविरुद्ध आयरल्याण्ड १३ रनले विजयी भएको थियो ।
आयरल्याण्डले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।