काठमाडौंः पाँच देश सम्मिलित टी–२० क्रिकेट सिरिज अन्तर्गत आज अन्तिम खेलमा नेपालले आयोजक ओमानसँग खेल्दै छ ।
नेपाल–ओमानबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि अल अम्रेट क्रिकेट मैदानमा सुरु हुँदैछ ।
नेपालले सुरुवाती २ खेलमा जित हासिल गरेपनि तेस्रो खेलमा बुधबार आयरल्याण्डसँग १३ रनले हार बेहोरेको थियो ।
लिग चरणको सुरुवाती दुई खेलमा भने नेपालले हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो ।
सिरिजको अन्तिम खेलमा घरेलु टोलीविरुद्व नेपाल अप्रत्यासीत जित निकाल्न चाहन्छ । यता, तालिकाको शीर्ष स्थानमा रहेको घरेलु टोली ओमान भने नेपालमाथि जित हात पार्दै सिरिज उपाधि कब्जा गर्ने लक्ष्यमा छ ।
जारी सिरिजमा ओमानले आयरल्याण्ड, हङकङ र नेदरल्याण्डलाई हराइसकेको छ । ओमान ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नपाल मात्र ४ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।
नेपाललाई चुनौती दिने ओमानका प्रमुख ४ खेलाडी
खवर अलिः अलि ओमान क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन् । ब्याटिङका साथै बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्ने अलिले बुधबार नेदरल्याण्ड्सविरुद्ध ‘ह्याट्रिक विकेट’ सनसनी मचाएका थिए ।
जारी सिरिजमा सर्बाधिक विकेट लिने सूचीमा ८ विकेटका साथ दोस्रो स्थानमा छन । ३३ वर्षीय अलि ओमानका ओपनिङ ब्याट्सम्यानसमेत हुन् ।
पाकिस्तानी मुलका उनले जारी सिरिजमा ३ म्याचमा ५२ रनसमेत बनाएका छन् । टी–२० मा उनको उच्च स्कोर ३८ हो ।
अकीब इलियासः अकीब पनि ओमान टिमका ओपनर ब्याट्सम्यान हुन् । पाकिस्तानी मुलका यी खेलाडीले जारी सिरिजमा ३ खेलमा ७८ रन बनाएका छन् ।
र, उनी सर्बाधिक रन बनाउनेको सूचीमा छैटौं स्थानमा छन् । टी–२० मा अकीबको उच्च स्कोर ५६ रन हो ।
जीशान मकसूदः जीशान ओमान क्रिकेट टिममा कप्तान हुन् । उनी ब्याटिङका साथै बलिङ पनि गर्छन् ।
बुधबार नेदरल्याण्ड्सविरुद्ध जीशानले घातक बलिङ गरे । उनले ३ ओभरमा ७ रन दिएर महत्वपूर्ण ४ विकेट लिए ।
टी–२० मा उनको यो करियरकै उत्कृष्ट बलिङ हो । ३१ वर्षीय जीशानको टी–२० उच्च स्कोर ५२ हो ।
उत्कृष्ट लयमा देखिएकाले उनी नेपालको लागि घातक हुन सक्छन् । जीशान ओमान टिमका ओपनर ब्याट्सम्यान पनि हुन् ।
मोहम्मद नदीमः नदीमले जारी सिरिजमा उत्कृष्ट बलिङ गरिरहेका छन् । उनले ३ खेलमा ६ विकेट लिइसकेका छन् ।
पाकिस्तान मुलका यी बलरले ब्याटिङमा पनि रन बनाउने क्षमता राख्छन् । नदीमको टी–२० उच्च स्कोर २९ र उत्कृष्ट बलिङ ३÷१४ हो ।
३७ वर्षीय अनुभवी क्रिकेटर नदीम जारी सिरिजमा सर्बाधिक विकेट लिनेको सूचीमा चौथो स्थानमा छन् ।