Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दुई जना लेखकले पाए साहित्यतर्फको नोबेल पुरस्कार (बिस्तृतमा)

सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार पोल्याण्डकी लेखिका ओल्गा टोकारजुक र सन् २०१९ को नोबेल पुरस्कार अस्ट्रियाली लेखक पिटर हान्डकेलाई प्रदान गरिने भएको छ ।

सन् २०१८ मा एक विवादास्पद यौनकाण्डका कारण साहित्य तर्फको नोबेल पुरस्कार वितरण गरिएको थिएन ।

स्वीडिस एकेडेमीका सचिव म्याट्स माल्मले स्टकहोममा दुबै पुरस्कारको घोषणा गर्नुभएको थियो ।

पुरस्कारका लागि आठ जनाको नाम प्रारम्भिक छनौटमा परेको र त्यसमध्ये दुई जनालाई सन् २०१८ र २०१९ का लागि पुरस्कृत गर्ने निर्णय भएको नोेबेल कमिटीका अध्यक्ष एन्डर्स ओल्सोनले बताउनुभयो ।

साहित्यमा नोबेल पुरस्कार यदाकदा विवादमा पनि पर्दै आएको छ ।

सन् १९०१ देखि अहिले २०१९ सम्म आइपुग्दा ११० वटा नोबेल पुरस्कार साहित्यमा प्रदान गरिएका छन् । तर सन् १९१३, १९१८, १९३५, १९४०, १९४१, १९४२ र १९४३ मा भने नोबेल पुरस्कार प्रदान गरिएन ।

वर्ष २०१८ मा समेत साहित्य तर्फको नोबेल पुरस्कार घोषणा गरिएन । नोबेल एकेडमीका शीर्ष व्यक्तित्व यौन काण्डमा मुछिएपछि यो स्थगित गरिएको थियो ।
कतिपय वर्षमा भने एकजना भन्दा बढी साहित्यकारलाई एकपटकको पुरस्कार दिइएको छ ।

यसरी हेर्दा ११४ जनाले यो पुरस्कार पाइसकेका छन् ।

साहित्यमा नोबेल पुरस्कार पाउनेहरुको औसत उमेर ६५ वर्ष छ । सबैभन्दा कम उमेरमा भने द जंगल बुकका लागि रुड्यार्ड किप्लिङले ४१ वर्षको उमेर यो पुरस्कार पाएका थिए । सबैभन्दा बढी उमेरमा नोबेल पुरस्कार पाउने डोरिस लेसिङ हुन । उनले ८८ वर्षको उमेरमा वर्ष २००७ मा साहित्यको नोबेल पाएकी थिइन ।

अहिलेसम्म १४ जना महिलाले यो पुरस्कार पाएका छन् ।

नोबेल पुरस्कार पाउन मानिसहरुको ठूलो सपना हुन्छ, तर दुईजना लेखकले भने यो पुरस्कार अस्वीकार गरेका छन् ।

सन् १९५८ मा रुसी लेखक बोरिस पास्तरनाकले शुरुमा यो पुरस्कार स्वीकार गरे । तर सरकारको बिरोधका कारण उनले यो फिर्ता गरेका थिए ।
बोरिस पास्तरनाकको डाक्टर जिभागो नामक चर्चित उपन्यास रहेको छ ।

त्यसको दश वर्षपछि दार्शनिक तथा लेखक जन पाल सात्रले पनि यो पुरस्कार अस्वीकार गरेका थिए

पुरस्कृत व्यक्तित्वहरुले जनही ९ लाख १८ हजार अमेरिकी डलर र स्वर्ण पदक एवं प्रमाणपत्र प्राप्त गर्नेछन् । उक्त पुरस्कार आगामी डिसेम्बर १० मा स्टकहोममा विशेष समारोहबीच प्रदान गरिनेछ ।

यसअघि नै रसायनशास्त्र, चिकित्साशास्त्र र भौतिकशास्त्र तर्फको पुरस्कार घोषणा गरिसकिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: