Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रोल्पामा युद्धकालीन ठूला हतियार भेटिए

रोल्पा– कुनै बेला माओवादीको उद्गमस्थल मानिएको रोल्पाको उत्तरी भेगमा ‘जनयुद्ध’ ताका लुकाएर राखिएका ठूलो परिमाणका हातहतियार र विस्फोटक पदार्थ फेला परेको छ। शान्ति प्रक्रियामा आएपछि तत्कालीन माओवादी नेतृत्वले शान्ति प्रक्रियामा आएपछिआफूसँग भएका हातहतियार ‘खोलाले बगाएको’ टिप्पणी गरेका थिए।

रोल्पाको उत्तरी कुलेरी भित्रीवनको परिवर्तन गाउँपालिका–१ कुरेली भित्रिवन पुवाखोरेको एक गोठमा युद्धताका भण्डारण गरिएको युद्ध सामग्री नेपाली सेनाले असोजको दोस्रो साता नियन्त्रणमा लिएको स्थानीयले जनाएका छन्।

स्थानीय वासिन्दाका अनुसार सशस्त्र युद्धताका यहाँ हातहतियार र विष्फोटक सामग्री उत्पादनसमेत हुने गरेको थियो। युद्धकै बेला भण्डारण गरिएका हतियार, गोली र विष्फोटक सामग्री शान्ति प्रक्रियाको लामो अवधिसम्म गोठमै थिए।

वैदेशिक रोजगारमा गएर फर्किएका गोठधनी राजकुमार बुढाले युद्ध सामग्री हटाइदिन तत्कालीन नेकपा माओवादीका नेतालाई आग्रह गरेपछि युद्ध सामग्री भण्डारणको रहस्य बाहिरिएको हो। गोठमा ठूलो परिमाणमा युद्ध सामग्री देखेर गोठधनी बुढाले ती सामान हटाइदिन आग्रह गरेका थिए। गत असोज ११ र १२ गते नेपाली सेनाको एक टोलीले गोठमा रहेको ‘युद्ध सामग्री’ नियन्त्रणमा लिएको स्थानीयले बताए।

गोठबाट उच्च विस्फोटक (हाइ एक्सप्लोसिभ) बम, ह्याण्ड ग्रिनेड, हतियार, गोली र विष्फोटक सामग्री फेला परेका थिए। गोठबाट एलएमजी व्यारेल ६ थान, म्यागनम व्यारेल १ थान, इम्प्रोभाइज बन्दुक १ थान र इम्प्रोभाइजर मोर्टार गण १ थान फेला परेको छ। एम १६ को ‘लाइभ राउण्ड’ (गोली) ४ हजार १ सय ९१ वटा र एटीवानको खाली गोली एक सय ३९ थान बरामद गरिएको छ। एटीवान लाइभ बम ११ थान, फोर्टी एमएचई बम ३ थान, हाते ‘ग्रिनेड–३६’ को ३ थान, ‘डेटोनेटर–७५’ थान ५, ‘डेटोनेटर–२७’ थान २, फिप्टी वान एचइ बम १३ थान र इस्मोकमिङ कम्प्लिट बम १९ थान छन्।

यस्तै टुइन्च मोर्टारको सेल २२ वटा, १२ केजी बारुद, २ केजी गण पाउडर र ४ मिटर सेफ्टी फ्यूज छन्। विभिन्न हतियारका खाली म्यागजिन पनि गोठमा फेला परेका थिए। एसएलआरको १३ वटा, थी्र नट थ्रीको ११ वटा, एलएमजीको ३७ वटा, एसएमजीको दुई, एके ४७ को एक, गलिलको एक र पेस्तोलको तीनवटा खाली म्यागजिन छन्। बिग्रिएको अवस्थाका दुईवटा साना जेनेरेटर पनि फेला परेको छ।

कतिपय हतियार, बम, गोली र बारुद काम नलाग्ने अवस्थाका भए पनि हजारौंको संख्यामा रहेको एम १६ को गोली र बम प्रयोग योग्य छन्। खिया लागेर काम नलाग्ने अवस्थाका युद्ध सामग्री नेपाली सेनाको डिस्पोजल टोलीले गोठ नजिकै डिस्पोज गरेको थियो। सुरक्षित अवस्थामा रहेका ‘लाइभ’ (विष्फोट योग्य) युद्ध सामग्री भने सेनाले लगेको स्थानीयले आफ्नो नाम उल्लेख नगरीदिन आग्रह गर्दै जानकारी दिए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: