‘महरा प्रकरणमा नेताहरुलाई मुछ्नु आपत्तिजनक’

काठमाडौंः पूर्वसभामुख ओनसरी घर्तीले संघीय संसद, प्रतिनिधिसभाका निवर्तमान सभामूख कृष्ण बहादुर महरा र संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीबारेको घटनामा नेकपाका नेतासहित आफूलाई मुछेकोमा आपत्ति जनाएकी छन्।

पछिल्लो चरणमा सो घटनाबारे फरक–फरक खबरहरु सार्वजनिक भइरहेको र त्यसमा आफूलाई समेत जोडेपछि उनले आरोपको खण्डन गरेकी हुन्।

सञ्चार माध्यमसँग कुरा गर्दै नेकपा प्रदेश ५ को अध्यक्षसमेत रहेकी पूर्वसभामूख घर्तीले भनिन्, ‘सो घटनाका विषयमा त्यतिबेला र अहिले पनि मेरो सम्बन्धित व्यक्तिहरु कसैसँग पनि कुराकानी भएको छैन, हुँदै नभएको कुरालाई लिएर तत्कालिन नेकपा माओवादी केन्द्रबाट विचलित भएका नेता गोपाल किराँतीले आधारहिन अफवाह फैलाएको र सोही आरोपलाई आधार मानेर केही सञ्चार माध्यम समाचारको सामग्री समेत बनाएको देख्दा मलाई दुख लागेको छ।’

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, ऊर्जामन्त्री वर्षमान पुन र आफ्नो नाम समेत जोडर तत्कालिन सभामुख महराका विषयमा अनावश्यक टिप्पणी गरेकोप्रति आक्रोश व्यक्त गर्दै पूर्वसभामुख घर्तीले त्यस्ताखाले सबै आरोपहरु आफूले खारेज गर्ने बताइन्।

‘अहिले सो घटना सम्मानित अदालतको मातहतमा छ,’ उनले भनिन्, ‘अदालतले गर्ने फैसलालाई सम्मान गर्नु मेरो पनि कर्तव्य हो। त्यसैले यस्ता अफवाहपूर्ण प्रचारबाजीको भ्रममा नपर्न म नेता, कार्यकर्ता, पार्टी समर्थक तथा शुभचिन्तकहरुमा अपील गर्दछु।’

नेता किँरातीले बिहीबार आफ्नो पार्टीको धारणा भन्दै महरालाई फसाउन प्रधानमन्त्री ओली, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र ओनसरी घर्तीसमेत लागेको आरोप लगाएका थिए। पूर्वसभामुख घर्तीले आफूमाथिको आरोप पुष्टि गरेर देखाउन समेत नेता किरातीलाई चुनौती दिएकी छिन्।

निर्वतमान सभामुख महराको नक्कली ट्विटर आइडी बनाएर कतिपयले अध्यक्ष प्रचण्ड, ऊर्जामन्त्री पुनलाई समेत आरोपित गर्ने गरी अफवाह फैलाएका थिए।

कमेन्ट गर्नुहोस्