सन्दीपआवद्ध बार्बाडोसले जित्यो सीपीएलको उपाधि

काठमाडौंः वेष्ट इन्डिजमा भएको क्यारेबियन प्रिमियर लिग (सीपीएल) को उपाधि नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध बार्बाडोस ट्रिडेन्सले जितेको छ ।

आज बिहान टरउबा स्थित ब्रायन लारा क्रिकेट स्टेडियममा भएको फाइनल खेलमा गयना अमेजन वारियर्सलाई २७ रनले हराउँदै बार्बाडोसले सीपीएलकाे उपाधि जितेको हो ।

बार्बाडोसले दोस्रोपटक सीपीएलको उपाधि जित्न सफल भएको हो । यसअघि उसले २०१४ मा सीपीएलको ‘टाइटल’ जितेको थियो ।

सन्दीपआवद्ध टिमले दिएको १७२ रनको लक्ष्य पछ्याएको गयनाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।

उसका लागि ब्रेण्डन किंग्सले ४३, निकोलश पूरनले २४, किपाे पउलले २५, शेरफन रदरफोर्डले १५ रन बनाए ।

बलिङमा बार्बाडोसका रेमन रिफरले ४, एश्ले नर्स, ह्यारी गर्नीले २–२ र हेडन वाल्श एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनायो ।

उसका लागि जोनाथन कार्टरले समान ४ छक्का र चौकाको मद्दतमा २७ बलमा नटआउट ५० रन बनाए ।

यस्तै जोनसन चाल्र्सले ३९, एलेक्स हेल्सले २८, शाकिव अल हसनले १५ र एश्ले नर्सले नटआउट १९ रनको योगदान दिए ।

बलिङमा वारियर्सका इमरान ताहिर, किमो पउल, रोमारियो सेफर्ड र बेन लाफलिनले एक–एक विकेट लिए ।

यो सिजनको सीपीएलमा सन्दीपले ६ खेलमा ८ विकेट लिएका थिए।

बार्बाडोसबाट यस सिजनमा सन्दीप ६ खेल खेलेपछि राष्ट्रिय टोलीका लागि खेल्न सिंगापुर गएका थिए।

सिंगापुरमा भएको त्रिदेशीय टी–२० सिरिज लगत्तै नेपाली टोली फेरि पाँच देश सम्मिलित टी–२० सिरिज खेल्न ओमान गएको थियो।

कमेन्ट गर्नुहोस्