नायक प्रदीपलाई म्यारिज सिक्ने रहर

काठमाडौं, दशैं र तिहारमा तास खेल्ने चलन छ । कतिपय हिरो हिरोइनहरु तास खेल्न सिपालु छन् भने कतिपयलाई यो रहरमैं सीमित छ । यस्तै एक अभिनेता हुन नायक प्रदीप खडका । पढौं उनीसँगको कुराकानी फिल्मीखबरबाटः

१। बाल्यकालको दशैँ कति रमाइलो हुन्थ्यो ?
हाम्रो सानो परिवार । दशैँमा टिका लगाउन मामा घर मात्र गइन्थ्यो । वर्षमा एकपटक मामा घर जान पाउँदा निकै खुसी हुन्थेँ । अहिलेको दशैँभन्दा बाल्यकालको दशैँ खुबै रमाइलो हुन्थ्यो ।

२। बाल्यकालमा आर्शिवाद प्यारो हुन्थ्यो कि दक्षिणा ?
बाल्यकालमा प्यारो हुने भनेकै दक्षिणा हो । मेरो त बहिनीसँग प्रतिस्पर्धा नै हुन्थ्यो कसले कति पायो भनेर । छोराहरुलाई अलि कम दिने चलन भएका कारण बहिनीको भन्दा मेरो पैसा कम हुन्थ्यो । त्यसबेला साह्रै नरमाइलो लाग्थ्यो ।

३। अहिलेसम्म सबैभन्दा धेरै दक्षिणा कति पाउनु भएको थियो ?
मधुरो सम्झना मात्र छ । जहाँसम्म मलाई याद छ सबैभन्दा धेरै दक्षिणा बाल्यकालमा १ हजारसम्म पाएको थिएँ । मामाले दशैँमा प्रायः मलाई हजार रुपैयाँ दिनुहुन्थ्यो । अरुले सय रुपैयाँ चाहिँ छुटाउनुहुन्न थियो ।

४। साधारण मानिसले मनाउने दशैँ र एउटा स्टार नायकले मनाउने दशैंमा फरक हुन्छ ?
फरक हुन्छ जस्तो त लाग्दैन मलाई । किनभने, दशैँ मनाउने भनेको आफन्त र साथी(भाईहरुसँग हो । आफन्त र साथी(भाईले देखिरहेको मान्छेलाई के स्टार के न स्टार । मेरो परिवारमा सबै फिल्मभन्दा बाहिरको मान्छे हुनुहुन्छ । त्यसैले उहाँका लागि म हिरो हो वा होइन भन्ने कुराले अर्थ राख्दैन ।

५। दशैँमा तासमा कत्तिको रमाउनुहुन्छ ?
मलाई तास खेल्न खासै आउँदैन । फलाँस चाहिँ हल्काफुल्का खेल्छु । तर, तालको अरु खेल आउँदैन । मलाई म्यारिज सिक्न चाहिँ खुब मन छ । यो दशैँमा सिक्ने प्रयास गर्छु ।

कमेन्ट गर्नुहोस्