करोडौं ठगीको आरोपमा अमिषा पटेलविरुद्ध वारेन्ट जारी

राँची, झारखण्डको राजधानी राँचीको एउटा अदालतले चेक बाउन्सको मुद्दामा बलिउड अभिनेत्री अमिषा पटेल र उनका सहयोगीविरुद्ध वारेन्ट जारी गरेको छ ।

राँचीको तल्लो अदालतले धोका तथा जालसाजीको आरोप तथा ३ करोड चेक बाउन्सको घटनामा अमिषाविरुद्ध वारेन्ट जारी गरेको हो ।

अमिषा पटेलले चलचित्र देशी म्याजिक बनाउने नाममा हरमु निवासी अजयसिंहबाट ढाई करोड ठगेको आरोप छ ।

अदालतमा मुद्दा परेपछि अमिषा पटेललाई तारिखमा बोलाउँदै आफ्नो पक्षको वचाऊ गर्न भनिएपनि उनले चार वटा तारिखमा समेत उपस्थित नभएपछि वारेन्ट जारी गरेको हो ।

आरोप अनुसार, डिजिटल इण्डिया कार्यक्रम अन्तर्गत वर्ष २०१७ मा हरमु हाउजिङ कलोनीमा कार्यक्रमको आयोजना भएको थियो । उक्त कार्यक्रममा अमिषा पटेल मुख्य अतिथी तथा राँचीका अजय सिंह अतिथीका रुपमा मञ्चमा सँगै बसेका थिए । त्यही बेला अमिषाले अजय सिंहलाई चलचित्रमा लगानी गर्ने प्रस्ताव राखिन । यसको डेढ महिनाभित्रै अजयले अमिषाको खातामा डेढ करोड रुपैयाँ ट्रान्सफर गरे ।

अजयका अनुसार, सम्झौता अनुरुप जुन २०१८ मा चलचित्र रिलिज नभएपछि उनले पैसा फिर्ता गर्न भने । तर अमिषाले भने बारम्बार आलटाल गर्दै आइन । तर पछि अक्टुबर २०१८ मा उनले ढाई करोड तथा पचास लाख रुपैयाँका दुईवटा चेक अमिषालाई दिए । चेक बाउन्स भएपछि १७ नोभेम्बर २०१८ मा उनले मुद्दा दर्ता गरेका थिए ।

कमेन्ट गर्नुहोस्