अफगान मस्जिदमा विस्फोटः ६२ जनाको मृत्यु, कैयौँ घाइते

एजेन्सीः अफगानिस्तानका एकजना प्रान्तीय प्रवक्ताले एउटा मस्जिदमा भएको विस्फोटनमा कम्तीमा ६२ जनाको मृत्यु भएको बताएका छन् । मस्जिदको छत नै खस्नेगरी देशको पूर्वमा पर्ने नन्गाहरमा भएको उक्त विस्फोटमा कैयौँ घाइते भएका छन् ।

उक्त हमला कसले गरेको भन्ने अझै स्पष्ट भएको छैन । तर उक्त क्षेत्रमा तालिबान र इस्लामिक स्टेट दुवै समूह सक्रिय छन् । संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा हिंसाको स्तर अस्वीकार्य भएको जनाएको भोलिपल्ट यो विस्फोट भएको हो ।

राष्ट्रसङ्घका अनुसार जुलाई र सेप्टेम्बरको बीचमा अफगानिस्तानमा ज्यान गुमाउने गैरसैनिकको सङ्ख्या ११ सय ७४ थियो । जुलाई एक दशकयताकै सबैभन्दा खतरनाक महिना बनेको थियो ।

बीबीसीले अगस्ट महिनामा भएका प्रत्येक हत्याको अभिलेख राख्ने प्रयास गरेको थियो र त्यसक्रममा द्वन्द्वमा ज्यान गुमाउनेमध्ये पाँचमध्ये एकजना गैरसैनिक रहेको खुलेको थिए । प्रान्तीय प्रवक्ता अताउल्लाह खोग्यानीले विस्फोटनका कारण प्रार्थाना गर्न जम्मा भएका थप ३६ जना घाइते भएको बताए ।

प्रान्तीय राजधानी जलालाबाददेखि ५० किलोमिटर टाढा हास्का मिना भन्ने जिल्लामा उक्त मस्जिद छ । प्रत्यक्षदर्शीहरूले मस्जिदको छत खस्नुअघि ठूलो आवाजसहितको विस्फोटन सुनेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्