तरकारीको नाममा अवैध रूपमा गाडीमा फूलको आयात

काठमाडौंः तिहारको बजारलाई लक्षित गर्दै फुलको अवैध कारोबारसमेत हुन थालेको छ । व्यवसायीले तरकारीको नाममा अवैध रूपमा राजधानीमा करिव ५ लाख थान फुलका माला भित्र्याइसकेको पुष्प व्यवसायीहरूले जनाएका छन् ।

फ्लोरिकल्चर एशोसिएसन (फ्यान) को अनुगमन टोलीले अवैध रूपमा फुलका माला भित्रेको थाहा पाए पछि अनुगमन गरको थियो । “बालाजु औद्योगिक क्षेत्र वरपरको कोल्ड स्टोरमा ठूलो मात्रामा फुल ल्याएर राखिएको छ,” अनुगमनमा गएका फ्यानका सदस्य राजु तामाङले भने, “आयात गर्ने मुख्य मान्छे को हो नै थाहा छैन, आयात गरेको कागजात पनि देखिएन ।” अवैध रूपमा भित्र्याइएको मालालाई होलसेलमा प्रति माला ४५ रूपैयामा विक्री गर्ने योजना रहेको त्यहाँका कामदारलाई उद्धृत गर्दै उनले बताए । बालाजु क्षेत्रमा २ र सीतापाइलामा एक कोल्ड स्टोर रहेका छन् ।

अवैध रूपमा फुलको आयात भएको खबर पाएपछि फ्यानले अनुगमन टोली नै खटाएको हो । अनुमगन टोलीले फोटो र भिडियोसहित प्रतिवेदन ल्याएपछि फ्यानको आकस्मिक वैठक बसेको थियो । आकस्मिक वैठकले अवैध कारोबार रोक्न सरोकारवालालाई ध्यानाकर्षण गराउने निर्णय गर्दै प्रेस विज्ञप्तीसमेत निकालेको छ । प्रेस विज्ञप्तीमा ठूलो मात्रामा अवैध रूपमा पुष्प आयात भइरहेको भन्दै सरोकारवाला निकायलाई आवश्यक कारबाही गर्न भनिएको छ ।

यो वर्ष तिहारमा करिव २५ लाख थान माला खपत हुने र साढे १३ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । जसमध्ये २ करोड ५० लाख आयातित फुल आवश्यक पर्नेछ । करिव एक साताअघि देखि नै अवैध आयातको सूचना पाए पछि आफूहरूले औपचारिक रूपमा फुलको आयात गर्ने वा नगर्ने भन्ने अन्यौलमा रहेको व्यवसायी बताउँछन् । यो समाचार आजको कारोबार दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्