टी–२० सिरिजः श्रीलंकाविरुद्ध अष्ट्रेलिया १३४ रनले विजयी

काठमाडौंः अष्ट्रेलिया विरुद्धको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा श्रीलंका १३४ रनले पराजित भएको छ ।

अष्ट्रेलियाले दिएको २३४ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो ।

उसका लागि दासुन शानकाले १७, कुसल परेराले १६, ओशादा फर्नान्डोले १३, दनुष्का गुनतिलकाले ११ र कप्तान लसिथ मलिंगाले नटआउट १३ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा अष्ट्रेलियाका एडम जम्पाले ३, मिचेल स्टार्क, प्याट कुमिन्सले २–२ र एश्टन अगरले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १३३ रन बनायो ।

उसका लागि डेभिड वार्नरले नटआउट शतक बनाए । उनी बाहेक कप्तान आरोन फिन्च र ग्लेन म्याक्सवेलले पनि उत्कृष्ट ब्याटिङ गरे ।

फिन्चले ३ छक्का र ८ चौकाको सहयोगमा ३६ बलमा ६४ रन बनाए ।

यस्तै म्याक्सवेल ३ छक्का र ७ चौकाको मद्दतमा २८ बलमा ६२ रनमा आउट भए । एश्टन टर्नर १ रनमा नटआउट रहे ।

बलिङमा श्रीलंकाका दासुन शानका र लक्षण सदाकर्णले एक–एक विकेट लिए ।

यो हारसँगै तीन खेलको सिरिजमा श्रीलंका १–० ले पछि परेको छ ।

टी–२० वार्नरको पहिलो शतक

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा अष्ट्रेलिया टिमका ओपनर डेभिड वार्नरले पहिलो शतक बनाउन सफल भए ।

उनले श्रीलंका विरुद्धको टी–२० सिरिजको पहिलो म्याचमा पहिलो शतक बनाएका हुन् ।

वार्नरले ४ छक्का र १० चौकाको मद्दतमा ५६ बलमा नटआउट शतक बनाए । उनको यो टी–२० करियरकै उच्च स्कोर हो ।

यसअघि वार्नरको टी–२० मा ९० रन उच्च स्कोर थियो ।

दक्षिण अफ्रिकासँगको टेष्ट सिरिजमा बल टेम्परिङ पछि प्रतिबन्धमा रहेका वार्नरको यो पहिलो अन्तर्राष्ट्रिय टी–२० म्याच पनि हो ।

कमेन्ट गर्नुहोस्