टोटेनहममाथि लिभरपुलको रोमाञ्चक जित

काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमविरुद्ध घरेलु मैदानमा लिभरपुलले रोमाञ्चक जित निकालेको छ ।

गयराति भएको खेलमा लिभरपुलले टोटेनहमलाई २–१ गोल अन्तरले पराजित गर्न सफल भयो । एनफिल्डमा लिभरपुलले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

खेलको पहिलो मिनेटमै ह्यारी केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । तर, खेलको ५२ औं मिनेटमा जोर्डन हेण्डरसनले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा फर्काए । खेलको ७५ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाउन सफल भए ।

जितसँगै लिभरपुलले १० खेलबाट २८ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ६ अंकको अग्रता बनाएको छ । पराजित टोटेनहम १२ अंक जोडेर लिगको ११ औं स्थानमा छ ।

 

कमेन्ट गर्नुहोस्