जुम्लामा १० लाख बराबरको कृतिम माला

काठमाडौंः नेपालीको महान् दोस्रो चाडपर्व तिहारका बेला जुम्लाका साना ठूला बजार कृतिम फूलले भरिभराउ छ । यहाँ उत्पादन हुने सयपत्री फूल कतै पनि देख्न पाइँदैन, स्थानीयबासी पनि कृतिम फूलकै भर पर्ने गरेका छन् । यहाँका बासिन्दा पहिले आफैँ घरका खेतबारीको फूल तिहारमा घरायसी प्रयोगका लागि सयपत्री फूल रोप्ने गर्दथे तर कर्णाली राजमार्गले जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि सबै कृतिम प्लाष्टिकका फूलको भर पर्ने गरेका हुन् ।

सदरमुकाम खलङ्गाका हरेक पसलमा प्लाष्टिकका माला बिक्रीका लागि राखिएका छन् । स्थानीयवासी सयपत्री फूलको साटो प्लाष्टिकका माला भित्रिन थालेपछि यहाँका बासिन्दामा परनिर्भरता बढेको हो ।तातोपानी गाउँपालिका–२ का मुनबहादुर डाँगीका अनुसार पछिल्ला तिहारमा सयपत्री फूलको माला भेटिन छाडेको छ । उनले भने, “पर्याप्तरुपमा फूल रोप्न सके जुम्ला फूलमा आत्मनिर्भर बन्ने सम्भावना निकै छ तर हरेक तिहारमा भित्रिने प्लाष्टिकका मालाका कारण फूलको खेती गर्न किसान निरुत्साहित भएका हुन् ।”

मौसममा आएको परिवर्तनका कारण फूल फूल्ने क्रममा पनि फेरवदल भएको छ । समयमै तुसारो पर्ने गरेकाले फूलेका फूल पनि सुक्दै जान थालेको छ । तिहारसम्म बारीमा देखिने फूल सुक्दै जान्छन्, उनले भने, फूलको रेखदेख र हेरचाह गर्न सके प्लाष्टिकका माला भित्र्याउनुपर्ने अवस्था छैन । वर्षेनी रु सातदेखि रू १० लाखसम्मको फूल जुम्लामा भित्रिने गरेको व्यवसायीहरू बताउँछन् ।

कमेन्ट गर्नुहोस्