६० हजार घूससहित प्रहरीका सई पक्राउ

सिमरा– प्रहरी चौकी गञ्जभवानीपुरका प्रमुख सई जटाशंकरप्रसाद कलवार घूस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाले ६० हजार रुपैयाँ घूससहित सई कलवारलाई पक्राउ गरेकाे हाे।

तस्करी खोलिदिने भन्दै कपडा व्यापारीबाट घूस लिँदै गरेको अवस्थामा उनलाई कलैया उपमहानगरपालिका–१ मैदामिल नजिकैबा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

घूस रकम लिन सई कलवार सादा पोशाकमा मैदामिल निर आइपुगेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाले जनाएको छ ।

नाम नखुलेको एक कपडा व्यापारीले घूस रकम दिँदै गरेको अवस्थामा सादा पोशाकमा खटिएको अख्तियारको टोलीले कलवारलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको अख्तियारले जनाएको छ ।

प्रहरी चौकी गञ्जभवानीपुरका इन्चार्ज जटाशंकर प्रसाद कलवारलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको आफूले पनि जानकारी पाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक विकासराज खनालले बताए । गञ्जभवानीपुर चौकीमा अर्को इन्चार्ज पठाउने उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्