जीवनोपयोगी शिक्षा दिने गरी काम गर्दैछौंः शिक्षामन्त्री पोखरेल

जलेश्वर– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अबको शिक्षा विगतजस्तो सामान्य शिक्षा नभई जीवनोपयोगी शिक्षा दिने गरी कामलाई अगाडि बढाएको बताएका छन् ।

छठपर्वको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले अबको शिक्षा रोजगारमूलक, सिपमूलक, उत्पादनमूलक र जीवनसँग गाँसिएको जीवनोपयोगी हुने बताएका हुन् ।

शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्न सकिने गरी शिक्षा ल्याउन लागेको बताउँदै मन्त्री पोखरेलले भने, ‘सामाजिक न्याय र समृद्धिलाई अगाडी बढाइरहँदा सबैलाई रोजगार प्रत्याभूत गर्नु, कृषिलाई आधुनिकीकरण गर्नु र बजारसँग जोड्ने गरी शिक्षाको आवश्यकता रहेको छ । त्यो काममा हामी अगाडि बढिसकेका छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेकै दिन हरेक पालिकामा प्राविधिक शिक्षालय पुर्याउने वचनअनुरुप हामी अहिले ७० प्रतिशत पालिकामा प्राविधिक शिक्षाको कार्यक्रम पुर्याइसकेको मन्त्री पोखरेलले जानकारी दिए । देशलाई समृद्धितर्फ डोर्याउन र गरिबीबाट मुक्त गर्न प्राविधिक शिक्षाको विकल्प नभएको उनको भनाई थियो ।

मिथिला संस्कृति तथा छठपर्वको व्याख्या गर्दै उनले कुनै पनि संस्कृति सान्दर्भिक छैनन् र आर्थिक रुपले धान्न सक्ने छैनन् भने नटिक्ने दावी गर्दै वैज्ञानिक ढंगले युगसँग मिलान गदै संस्कृति र पर्वहरुलाई अगाडि बढाउन र व्यवस्थित गर्न जरुरी रहेको बताए ।

शिक्षा, स्वास्थ्यसहित मानव सूचकाँकको क्षेत्रमा समेत कर्णालीपछि यो प्रदेश पछाडि रहेको बताउँदै पहिल्यै नै संसारलाई ज्ञान दिने, उज्यालो दिने यो भूभाग अहिले कसरी पछाडी प¥यो भनेर सोच्नु आवश्यक रहेको बताए । शिक्षाको क्षेत्रमा यो प्रदेशलाई पछाडी पारिएको छ वा परेको छ यसलाई माथि उठाउन जरुरी रहेको उनको तर्क थियो ।

अबको युगलाई प्राविधिक क्रान्तिको युग भनिएको छ तर यो परिवेशमा हाम्रा युवाहरु जुन पद्धतितर्फ अगाडी बढिरहेका छन् त्यसको पनि सही ढंगले विष्लेषण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै मन्त्री पोखरेलले भने, ‘ विज्ञान र प्रविधिलाई ग्रहण गर्ने क्रममा सबै प्रविधिहरु सही छ, छैनन्, त्यसको विश्लेषण र जाँच गरेर मात्रै अगाडी बढ्न जरुरी छ ।’

कृषिको विकासको नाउँमा हामीले जुन पद्दति अपनाइरहेका छौं त्यसले अहिले कसैका मिग्रौला बिग्रेको छ, धेरै गरिबहरुलाई क्यान्सर रोगले गाँजेको बताउँदै उनले हामीले जुन पद्दति अपनाइरहेका छौं त्यसले मान्छेको जीवन त गयो गयो जमिनको पनि जीवन नष्ट भएकोमा दुःख व्यक्त गरे । यसक्षेत्रलाई अन्नको भण्डार भनिन्छ तर ल्याटिन अमेरिकाबाट मकै ल्याएर हामी खाइरहेको अवस्था रहेको उनको भनाई थियो ।

कृषिमा विषादी प्रयोग गरेर जुन गलत बाटो प्रयोग गर्यो पछिल्लो पद्धतिलाई पनि हामीले ठिक ढंगले प्रयोग गर्न सकेनाैँ भने यसका दुष्परिणाम आउने भएकोले युवालाई समयमा सचेत भएर लाग्न उनले सुझाव दिए ।

कमेन्ट गर्नुहोस्