मन्त्री भट्टराई भन्छन्, ‘हवाईजहाज चढ्न काठमाडौं पुग्नुपर्ने अवस्थाको अन्त्य हुन्छ’

जलेश्वरः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाईजहाज चढ्न काठमाडौं पुग्नुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन् ।

बिहीबार महोत्तरीको पिपरा गाँउपालिका पुगेका मन्त्री भट्टराईले जनकपुर विमानस्थल क्षेत्रीय र निजगढलाई राष्ट्रिय स्तरको रंगशालाको रुपमा विकास गरिने बताए ।

‘अब छोरानातीहरु विदेश जान प्लेन चढ्न काठमाडौं जानु पर्ने बाध्यताको अन्त्य हुनेछ’ मन्त्री भट्टराईले भने ।

मैथिली भाषाका महाकवि विद्यापतिलाई राष्ट्रकविको रुपमा सम्मान गर्न सरकार लागि परेको बताए ।

देशकै महाकवि विद्यापति भएकोले उनलाई सम्मान गरिने बताउँदै पिपरा गाउँपालिकाको बनौलीमा विद्यापतिको विशाल शालिक निर्माण सहित विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।

विद्यापतिको १२ वर्षे प्रवासकालीन गढको रुपमा चिनिएको पिपरा गाउँपालिकाको बनौलीलाई पर्यटकीयस्थलको रुपमा चिनाउन विद्यापतिको नामबाट यो गाउँलाई अगाडी बढाउने बताउँदै यसक्षेत्रमा धार्मिक साँस्कृतिक सर्किट बनाउन समेत सरकार लागिपरेको बताए ।

मैथिली साहित्य र भाषाका महाकवि विद्यापतिको कर्मभूमि आइपुग्दा खुशी र गर्व समेत लागेको बताउँदै मन्त्री भट्टराईले भने, ‘मैथिली भाषा बोल्नेको मात्रै नभई विद्यापति देशकै राष्ट्रिय महाकवि भएकोले म मन्त्री भएर आए लगत्तै विद्यापतिलाई राष्ट्रिय महाकविको रुपमा सम्मान गर्न अगाडि बढेको हुँ ।’

हाम्रो मन्त्रालयले विद्यापतिलाई राष्ट्रिय महाकविको रुपमा स्थापित गर्न पूर्वाञ्चलको इलाम जिल्लाको कन्यामको सुन्दर र रमणीय ठाउँमा समेत शालिक निर्माण गर्ने घोषणा गरिसकेको जानकारी गराउँदै मन्त्री भट्टराईले नेपालको विभिन्न ठाउँहरुमा यस्ता शालिक निर्माण गरिने वताए ।

प्रदेश नं. २ धार्मिक र साँस्कृतिक हिसाबले एकदमै महत्वपूर्ण रहेको चर्चा गर्दैदै सबैसँग समन्वय गरेर सल्लाह गरेर सप्तरीको छिन्नमस्तादेखि बाराको गढीमाईसम्म एउटा धार्मिक, साँस्कृतिक सर्किट बनाउने घोषणा गरिने जानकारी समेत मन्त्रीले दिए ।

त्यसैगरी जनकपुरदेखि पशुपतिनाथ, पशुपतिनाथदेखि मुक्तिनाथ र मुक्तिनाथदेखि दामोदरकुण्डसम्मको रामायण सर्किटलाई समेत कार्यान्वयनमा ल्याउन मन्त्रालय लागिसकेको बताउँदै उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाममा गरेको संयुक्त घोषणालाई मुर्तरुप दिइने बताए ।

कमेन्ट गर्नुहोस्