सरकारद्धारा उपकुलपतिका लागि आवेदन आह्वान

काठमाडौंः सरकारले पोखरा, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल तीनवटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो आह्वान गरेको हो । यसअघि पूर्वाञ्चल, कृषि तथा वन र नेपाल संस्कृत विश्वविद्यालयका लागि आवेदन आह्वान गरिएको थियो ।

आवेदनका आधारमा रोस्टर तयार गर्ने र त्यसबाट योग्य व्यक्तिलाई उपकुलपतिका रूपमा सिफारिस गर्ने नयाँ अभ्यासको थालनी गर्न लागिएको हो ।
चारवटा विश्वविद्यालयका उपकुलपति छनोट समितिमा रहेका राष्ट्रिय योजना आयोगका सदस्य प्रा।डा। उषा झाले इच्छुक नहुनेलाई जबरजस्ती पठाउँदा काम नगर्ने पनि हुन सक्ने भएकाले इच्छुकहरूको रोस्टर तयार गर्न लागिएको तर्क गरिन् । उनले थपिन् “हिजो आफ्नालाई सीधै उपकुलपति बनाइन्थ्यो, अब त्यो परिपाटीभन्दा माथि उठौँ भनेर योग्य व्यक्तिहरूसँग आवेदन मागिएको हो । यतिसम्मको अभ्यास थाल्न पनि निकै सङ्घर्ष गर्नुपर्यो । ”

इमानदारीका साथ काम गर्न वैयक्तिक विवरण मागिएको बताउँदै उनले थपिन्, “इच्छा नहुनेलाई जिम्मेवारी नदिऔँ भन्ने मान्यता हो । आवेदनका आधारमा इच्छुकलाई जिम्मेवारी दिइयो भने काम गर्ने छन् । अब हाम्रो मान्छे होइन, राम्रो मान्छेलाई नै जिम्मेवारी दिइनुपर्छ । ”
दुई दिनअघि पूर्वाञ्चल, कृषि र नेसंविका लागि आवेदन माग गरेकोमा चार जनाले आवेदन दिएको शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्