२०७२ सालको भूकम्पपछि नेपालमा ४ रेक्टरभन्दा माथिका ५३५ परकम्प

काठमाडौं– गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५३५ परकम्प गएका छन् ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २०७२ वैशाख १२ गते गएको भूकम्पपछि चार रेक्टरस्केल माथिका ती परकम्प गएका हुन् ।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराई नेपाल भूकम्पको उच्च जोखिमको क्षेत्र भएको बताउँछन् । ‘ठूलो भूकम्पपछि बेलाबेलामा आउने परकम्पका कारण ठूलो भूकम्पको जोखिम कम हुन्छ’, उनले भने । चार रेक्टरस्केलभन्दा साना ५० हजारभन्दा बढी परकम्प गएको भट्टराईले बताए ।

गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको सो भूकम्पले काठमाडौँ उपत्यका, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, धादिङ, गोरखा, नुवाकोट, रसुवा, दोलखा, मकवानपुर, चितवन, रामेछाप, ओखलढुङ्गालगायत जिल्लामा क्षति पुर्‍याएको थियो ।

भूकम्पबाट थुप्रै ऐतिहासिक तथा भौतिक संरचनामा क्षति पुग्नुका साथै आठ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो ।

पछिल्लो समय मुलुकको पश्चिमी क्षेत्रमा चार रेक्टरस्केलभन्दा माथिको भूकम्प गएको केन्द्रले जनाएको छ ।

कमेन्ट गर्नुहोस्