२० हजार घूस लिएको आरोपमा सशस्त्रका इन्स्पेक्टरविरूद्ध अदालतमा मुद्दा

काठमाडौंः २० हजार घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक रबिन्द्र कार्कीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले सशस्त्र प्रहरी बल बिओपी भजनी कैलालीका प्रहरी निरीक्षक कार्कीसहित तीन जनाविरूद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा सजाय माग गरी तीनै जनाविरूद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

घुमुवा प्रहरी खटाएर भारतबाट मालसामान क्यारिङ गर्नेबाट कार्कीले घूस उठाउने गरेको अख्तियारको दावी छ । केही समयअघि भन्सार शुल्क तिरिसकेपछि पनि सेवाग्राहीबाट बीस हजार घुस लिएको अवस्थामा प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर चौधरी र हवल्दार रतिराम चौधरीलाई अख्तियारले रंगेहात पक्राउ गरेको थियो ।

उनीहरूले बयानमा कार्कीको नाम बोलेका थिए । उनकै आदेशमा सेवाग्राहीबाट मालसामान ओसारपसारको काम सहज गराइदिने भनी घुस लिएको बयान दुवैले दिएका थिए ।

कमेन्ट गर्नुहोस्