क्यानाडा र पाकिस्तानबाट मटरको दाल नेपाल हुँदै भारतमा तस्करी

 

गोरखपुर, सुपारी या जडबुटीको तस्करी हुने कुरा त आम रुपमा सुनिंदै आएको कुरा हो । तर अहिले भने एउटा नयाँ किसिमको तस्करीले भारतीय सीमा सुरक्षा बललाई तनाव दिएको छ । यो तस्करी पनि नेपालबाट भारत या चीनबाट होइन । बरु सात समुन्द्रपारी क्यानाडा र छिमेकी पाकिस्तानबाट मटरका दाना र त्यसको दाल नेपाल हुँदै भारततर्फ धमाधम तस्करी हुन थालेको हो ।

जागरण दैनिकमा प्रकाशित समाचार अनुसार, अहिले दिनहुँ जसो हजारौं किलो अवैध दाल सीमामा पक्राउ पर्न थालेको छ । पछिल्लो दुई महिनामात्रै सुरक्षाकर्मीहरुले एक टनभन्दा बढी मटरको दाल बरामद गरेका छन् ।

यो तथ्यांक भारतको सिद्धार्थनगर जिल्लासँग जोडिएको सीमा क्षेत्रको मात्रै हो । उत्तर प्रदेश र बिहारका अन्य सीमावर्ती क्षेत्रबाट समेत दालको तस्करी भइरहेको समाचारमा उल्लेख छ ।

सिद्धार्थनगर जिल्लाको ६५ किलोमिटर नेपाल भारत खुला सीमाक्षेत्रमा सुरक्षा कर्मीले आस्तरुपमा दश क्विन्टल मटरका दाल पक्राउ गरिरहेका छन् ।

नेपाल मटरको दाल उत्पादक देश नभएको हुँदा यो दाल कहाँबाट आइरहेको छ भन्ने तनाव सुरक्षाकर्मीलाई रहेको छ । अझ यति बढी दाल नेपालमा कसरी पुगिरहेको छ भन्ने कुराले उनीहरु हैरान छन् ।

पछिल्लो दुई महिनामा प्रहरीले पचासबढी पटक अवैध दाल पक्राउ गरेको छ । एसएसबीले मटर तस्करीबारे केन्द्र सरकारलाई समेत रिपोर्ट पठाएको छ । भारतमा मटरको मूल्य ४६ देखि ५० भारतीय रुपैयाँ छ । तस्करी गरिएको मटर भने ३५ रुपैया किलो रहेको बताइन्छ । सुरक्षाकर्मीले पिकअप र साइकल मात्रैपक्राउ गर्न सफल भएका छन् ।

सीमा क्षेत्रका गोदाममा जाँच गरिँदैछ । यो मटर पाकिस्तान या क्यानाडा कताबाट आइरहको छ भन्ने कुरा अझै पत्ता लगाउन उनीहरुले नसकेको समाचारमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: