झापाका शरणार्थी प्याकुरेल अमेरिकाको नगर परिषद् सदस्यमा निर्वाचित

विजय थापा, अमेरिकाः भुटानमा जन्म भएर हाल अमेरिकाको ओहायोमा बस्दै आएका युवा भुवन प्याकुरेल ओहायोको रेनोल्ड्सबर्ग शहरका लागि नगर–परिषद सदस्यमा निर्वाचित भएका छन् । गत नोभेम्बर ५ मा सम्पन्न निर्वाचनमा प्याकुरेल बिजयी भएका हुन् ।

उनी उक्त शहर वडा ३ का लागि सिटि काउन्सिल (नगर–परिषद् सदस्य) मा भएका हुन् । प्याकुरेल यसरी निर्वाचनमा उम्मेदवार बनेर निर्वाचनमा बिजयी हुने पहिलो भुटानी–अमेरिकन भएका छन् । बिजयी भएपछि उनलाई बधाई दिनेको ओइरो लागेको छ ।

प्याकुरेल रेनोल्ड्सबर्ग नगर परिषदको निर्वाचनमा १ हजार ३ सय ५२ मत ल्याई विजय भएका हुन् । उनका प्रतिस्पर्धी रिपब्लिकनका उम्मेदवार मार्सल स्पल्डिंगले ९ सय ९० मत  प्राप्त गरेका थिए । उनी ९ बर्षको उमेरमा आफ्ना परिवारसाथ भुटानबाट लखेटिएर नेपालको पूर्वीय क्षेत्र झापा आएका थिए । उनी १८ बर्ष सम्म नेपालका विभिन्न शरणार्थी शिबिरमा रहेका थिए ।

अमेरिका आएपछि उनी नागरिक बनेपछि समाजसेवामा केही योगदान गर्ने ईच्छा भएकोले नगर परिषदको उम्मेदवारी दिए र बिजयी पनि भए ।

प्याकुरेल सन् २००९ मा अमेरिकाको कोलोराडो आएका थिए । पछि उनले ओहायोमा परिवारसाथ बसाईसराई गरेका थिए । उनले सन् २०१६ मा अमेरिकन नागरिकता लिएका थिए ।

उनलाई बिजयी गराउन मेरिल्याण्ड डेमोक्रेटिक पार्टी एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर (एएआइपी) बाल्टिमोर काउन्टीका सभापति डा. श्याम कार्की लगायत डेमोक्रेटिक दलका अधिकारी तथा एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर (एएआइपी) ककस प्रमुखले स्वयम् सेवक तथा चुनावी रणनीतिमा सहयोग गरेका थिए ।

कमेन्ट गर्नुहोस्