नेपालविरुद्ध एमसीसी २०८ रनले विजयी

काठमाडौंः प्रथम श्रेणी तीनदिवसीय क्रिकेट खेल अन्तर्गत मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध नेपाली राष्ट्रिय टिम पराजित भएको छ । एमसीसीविरुद्ध नेपाल २०८ रनले पराजित भएको हो ।

३९३ को विजयी लक्ष्य पछ्याएको नेपाल ४१ ओभरमा १ सय ८४ रन बनाएर अल आउट भयो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१, राजु रिजालले ३१, सन्दीप लामिछानेले २५, करण केसीले १८, शरद भेषवाकरले १५, कप्तान ज्ञानेन्द्र मल्लले ६ रन बनाए ।

विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी र पवन सरार्फ भने शून्यमै मैदान बाहिरिए । बलिङमा  एमसीसीका ओलिभर डल्बीले सर्वाधिक ५ विकेट लिए ।

एमसीसीले ३६ ओभरमा १८१ रन बनाएर ६ विकेट गुमाएको स्थितिमा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको थियो ।

एमसीसीका टम वेस्ट्ली ३४, माइल्स हामान्ड ११, एड योङ ३१, विल रोड्स ३० र बिली गोडलम्यान ३९ रनमा आउट भए । बलिङमा करण केसीले ३, सोमपाल कामी, ललित नारायण राजवंशी र पवन सरार्फले समान एक विकेट लिए ।

नेपाल पहिलो इनिङमा ४४.४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । पहिलो इनिङ्समा सन्दीप लामिछानेले २१ बलमा ४ छक्का र २ चौका सहित सर्वाधिक ३९ रनाए ।

त्यस्तै विनोद भण्डारी ३६, सोमपाल कामी २६, ज्ञानेन्द्र मल्ल डक, शरद भेषवकर ४, राजु रिजाल ८, दीपेन्द्र सिंह ऐरी १ र आरिफ शेख १० रनमा आउट भए ।

एमसीसीका यासिर अराफात र एलेक्स थम्पसनले समान ३ विकेट लिए । एमसीसी पहिलो इनिङमा ३ सय ६४ रनमा अल आउट भएको थियो ।

कमेन्ट गर्नुहोस्