१५ वर्षीया शेफाली वर्माले तोडिन् सचिन तेन्दुलकरको कीर्तिमान

भारतः भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा ५० रन बनाउने कीर्तिमान बनाएकी १५ वर्षीया किशोरीले त्यसको भोलिपल्ट पुनः उक्त सफलता दोर्होयाएकी छन् ।

शनिवार शेफाली वर्माले वेस्ट इन्डिज विरुद्धको टी–२० क्रिकेट खेलमा ४९ बलमा ७३ रन बनाएर सचिन तेन्दुलकरको कीर्तिमान तोडेकी थिइन् । पाँच खेलको श्रृङ्खलाको दोस्रो खेलमा आइतवार उनले ३५ बलमा ६९ रन बनाउँदै भारतलाई १० विकेटको जीत दिलाइन् ।

शनिवार उनले ३० वर्षदेखि क्रिकेट उत्कृष्ट खेलाडी मानिने तेन्दुलकरको नाममा रहेको सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेट खेलमा अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान तोडेकी थिइन् ।

त्यस्तो कीर्तिमान बनाउँदा तेन्दुलकरको उमेर १६ वर्ष २४१ दिन थियो । सन् १९८९ मा फैसलावादमा भएको खेलमा पाकिस्तान विरुद्धको टेस्ट श्रृङ्खलामा उनले अर्धशतक प्रहार गरेका थिए । वर्माले भने सो कीर्तिमान १५ वर्ष २८५ दिनमा बनाएकी हुन ।

गत अक्टोबरमा दक्षिण अफ्रिका विरुद्धको खेलबाट उनले अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेकी थिइन । टी–२० क्रिकेटमा खेल्ने उनी सबैभन्दा कम उमेरकी भारतीय खेलाडी हुन् । उक्त खेलमा वर्माले ४६ रन बनाएकी थिइन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने कीर्तिमान यूएईका काविसा इगोडाबेको नाममा छ जसले १५ वर्ष २६७ दिन हुँदा अर्धशतक बनाएकी थिइन् ।

रोतक गाउँमा हुर्केकी वर्मा महिलाहरूका लागि क्रिकेट खेल्न आवश्यक व्यवस्था नभएको हुँदा पुरुषको पोसाक लगाएर क्रिकेट एकेडेमी जान्थिन । उनले आफू तेन्दुलकरबाट प्रभावित भएर क्रिकेट खेल्न थालेको बताएकी छन् । (बीबीसी)

कमेन्ट गर्नुहोस्