भोजपुरका स्थानीय बजारमा कटुसको व्यापार बढ्दो, प्रतिकिलो ३ सय रुपैयाँसम्म

भोजपुरः भोजपुरका स्थानीयवासीले कटुसको व्यापार गरेर राम्रो आम्दानी गरिरहेका छन् । जङ्गल तथा पाखोबारीमा फलेको रातो पात्लेको कटुस बेच्नेको हाटबजारमा बाक्लो उपस्थिति देखिन्छ ।

स्थानीयवासीले पनि यसलाई अर्गानिक फलको रुपमा किनेर खाने गरेका छन् । यो मौसममा भोजपुरका स्थानीय बजारमा कटुसको व्यापार निकै फस्टाएको छ । लेकाली भेगमा पाइने रातोपात्ले तथा सेतो पात्लेमा फलेको कटुस बिक्रीका लागि स्थानीयवासी हाटबजारसम्म धाउने गरेका छन् ।

खानको लागि निकै स्वादिष्ट मानिने कटुस मानिसको रोजाइँमा पर्ने गरेको छ । कटुसको बिक्रीबाट यो मौसममा निकै राम्रो आम्दानी हुने गरेको बिक्रेताको भनाइ छ । कटुस बिक्रेता दानमाया तामाङले भने, ‘‘कटुस बिक्रीबाट राम्रो आम्दानी गरिरहेका छौं, एक बोरा बिक्री गर्दा रु पाँच हजारसम्म हुन्छ ।’’ एक मौसममा टिपेको कटुस बिक्रीबाट स्थानीयवासीको जीवनस्तरमा परिवर्तन आउन थालेको तामाङले बताए ।

शुरुको समयमा प्रतिकेजी दुई सय ५० देखि तीन सय रुपैयाँमा बिक्री गरेको भए पनि अहिले उत्पादन बढ्न थालेपछि मूल्य केही घटेको बिक्रेता बताउँछन् ।

कटुस बिक्रेता विर्खराज तामाङले भने, ‘‘निकै स्वादिष्ट हुने भएकाले यसको माग बजारमा बढी छ, यो तराईका जिल्लासँगै विदेशसम्म कोसेलीको रुपमा जाने गरेको छ ।’’

विषेश गरेर असोजको अन्तिमबाट खान मिल्ने कटुस माथिल्लो भेगमा बस्ने स्थानीयवासीको निकै राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । कटुस भुटेर तथा काच्चै पनि खान मिल्ने एक प्रकारको फल हो ।

कमेन्ट गर्नुहोस्