कलंकी-चाबहिल चक्रपथ विस्तारः चक्रपथमा रूख कटान तीव्र

काठमाडौंः कलंकी-चाबहिल चक्रपथ विस्तार क्रममा २ हजार ९३ रूख काटिने भएको छ। चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि चाबहिलको धोबीखोलासम्मको ११. ६ किलोमिटर सडक विस्तार हुन लागेको हो। उक्त सडकखण्डमा पर्ने रूख काट्न सुरु गरिएको छ। सडक विभागको सिफारिसमा जिल्ला वन कार्यालय र वन निगमले संयुक्त रूपमा रूख काट्न सुरु गरेको हो। बर्सेनि सडक विस्तार क्रममा धेरै रूख काट्ने गरिएको छ। रूख घट्दै जाँदा वातावरण प्रदूषणमा प्रत्यक्ष असर परेको विज्ञहरू बताउँछन्।

वन निगमका वन प्राविधिक अभिशेक शर्माका अनुसार कलंकी(चाबहिल खण्डमा ३ सय संख्यामा रूख काटेर सकिएको छ। बाँकी सडकका दुवैतर्फका रूख धमाधम काट्ने काम भइरहेको उनले बताए। ‘हामी धमाधम रूख काट्ने काम गरिरहेका छौँ,’ उनले भने, ‘सडकमा चाप कम भएको अवस्था हेरेर बिहान-दिउँसो काटिरहेका छौँ।’ काटिएका रूख छनोट गरी लिलाम गरी बिक्री गरिने शर्माले बताए।

सडककिनारमा भएका रूखले २४ प्रतिशतसम्म प्रदूषण रोक्ने उनले बताए। ‘विश्वमा गरिएको वातावरण रिसर्चअनुसार सडककिनारका रूखले २४ प्रतिशतसम्म प्रदूषण नियन्त्रण गर्छ,’ उनले भने, ‘हाम्रो सहरको ठ्याक्कै कति प्रतिशत नियन्त्रण भएको छ भन्न सकिँदैन। तर, सडककिनारका यति धेरै रूख काटिनु वातावरणीय हिसाबले राम्रो होइन।

चक्रपथ विस्तार आयोजनाका प्रमुख अमृतमणि रिमालका अनुसार अहिले रूख काटिए पनि सडक विस्तारपछि बिरुवा रोपिने बताए। ‘सडक विस्तारको काम सकिएपछि वन विभागसँगको सहकार्यमा हामी बिरुवा रोप्छौँ,’ उनले भने। तर, बिरुवा रोपेर हुर्काउने भन्दा हुर्केका बिरुवा संरक्षण भए उचित हुने तुलाधरले बताए।

कमेन्ट गर्नुहोस्