दुर्लभ पेन्गुइनलाई ‘वर्षको चरा’ उपाधि

एजेन्सीः पहेँलो आँखा भएको दुर्लभ पेन्गुइनले न्यूजील्यान्डको प्रतिष्ठित ‘वर्षको चरा’ उपाधि जितेको छ । पाँचभन्दा धेरै अन्य चराहरूलाई पछाडि पार्दै दुई हप्ता लामो प्रतिस्पर्धात्मक अभियानपछि होइहो १४ वर्षे इतिहास भएको उपाधि जित्ने पहिलो पेन्गुइन बनेको हो ।

न्यूजील्यान्डमा २२५ जोडा मात्रै बाँकि रहेको मानिएको होइहो संसारकै सबैभन्दा दुर्लभ पेन्गुइन मानिन्छ । विज्ञहरूका अनुसार होइहो समागमको बेला तीखो स्वरमा चिच्याउने असामाजिक चरा हो ।

यसले खसेका ४३,४६० मध्ये १२,०२२ मत प्राप्त गरेको वर्षको चरा उपाधिका आयोजकहरूले बताएका छन् । आयोजक फरेस्ट एन्ड बर्डले होइहोले काकापो र गत वर्षको विजेता केरेरुलाई पछाडि पारेर उपाधि जित्नु ठूलो अचम्म भएको बताएको छ ।

‘दुर्लभ चराहरूबीच कडा प्रतिस्पर्धा थियो र विजेता अनुमान गर्न र्गाहो थियो,’ आयोजक संस्थाकी प्रवक्ता मेगान हब्स्चेरले बताइन् । न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा समेत सो उपाधिको चर्चा गरेकी छन् ।

‘विजेता यो उपाधि जित्ने पहिलो समुन्द्री चरा भएकोले मलाई बधाई दिन मन लागेको छ,’ उनले सोमवार बताइन् । आर्डर्नले यो जीतले उनले लामो समयदेखि समर्थन गर्दै आएको ब्ल्याक पेट्रेल चराले भविष्यमा उपाधि जित्नका लागि बाटो खोलेको बताइन् ।

यो उपाधि गत वर्ष केकेरु नामक परेवा र सन् २०१७ मा सुगा जातको केयाले जितेका थिए ।

कमेन्ट गर्नुहोस्