प्रचण्डको कालापानी यात्राः सुरुङ युद्ददेखि भारतीय नक्सासम्म

काठमाडौं: भारतले नेपालको कालापानीलाई आफ्नो भूभाग भनेर नक्सा सार्वजनिक गरेपछि नेपालको राजनीतिक वृत्तमा सबैभन्दा पहिला प्रचण्डले त्यसको बिरोध गरे ।
भारतको नक्सा सार्वजनिक भएपछि कालापानी नेपालको भूभाग भएको र भारतले कुनै पनि हालतमा नेपालका भूभागलाई आफ्नो देखाउन नमिल्ने भन्दै प्रचण्डले यो विषयलाई कुटनीतिकरुपमा भारतसँग राख्न सुझाव दिए ।

इतिहास साक्षी छ, कुनै बेला कालापानी र महाकाली सन्धीको बिरोधमा उभिँदा तत्कालिन एमाले नेतृत्वबाट वामदेव गौतमदेखि योगेश भट्टराईहरु कोपभाजनको शिकार बनेका थिए । योगेशहरुले त कालापानीसम्म मार्च नै गरे । वामदेव एमालेबाट अलग भए । र, माधव नेपालदेखि केपी ओलीसम्मले त्यतिखेर राष्ट्रियताको मुद्दालाई ‘नजरअन्दाज’ गरे ।

त्यसको केही समयपछि माओवादीले भारतीय विस्तारवाद र देशीय सामन्तवादलाई प्रधान शत्रु भन्दै सुरुङ युद्द गर्दै थिए । र, आज दुई दशकपछि कालापानीको मुद्दा भारतका कारण पुनः ब्यूँझियो ।

यसका लागि भारतलाई धन्यवाद दिनैपर्छ । भारतले कम्तीमा नेपालका नेताहरुलाई कालापानी सम्झायो । नत्र नेपालका नेताहरुले कालापानी बिर्सिसकेका थिए । अझ सुखद पक्ष भनौं, नेपाली कांग्रेसले समेत कालापानीको मुद्दाको अपनत्व ग्रहण गर्यो ।

अहिले वामदेव गौतम र प्रचण्डहरु विगत सम्झिरहेका होलान् । कठै, त्यतिबेला नै केपी ओली, माधव नेपाल र देउवाको बुद्दि खुलेको भए…
तर त्यतिबेला खुलेन ।
महाकाली सन्धी राष्ट्रवादी भयो । कालापानीमा भारतीय अतिक्रमण प्रचण्ड र वामदेवहरुको स्वार्थको एजेण्डा मात्र भनियो । तर अहिले परिस्थिति फेरिएको छ ।

प्रचण्डका बारेमा तथानाम आलोचना भएपनि, उनले राष्ट्रिय सहमतिका लागि कतिपय मुद्दामा नरम व्यवहार अपनाएपनि राष्ट्रियताका पक्षमा उनको अडान अहिलेसम्म दायाँबायाँ भएको छैन । नेपालको भारतसँगको निर्भरतालाई अन्त्य गरी छिमेकी चीनसँग समेत समदूरीको सम्बन्ध निर्माण गर्न उनले खेलेको भूमिकाको कसैले नजरअन्दाज गर्न सक्दैन ।
खासगरी प्रचण्ड प्रधानमन्त्री भएपछि उनले चीनसँगको सम्बन्धमा खेलेको भूमिकाको अहिले गुणात्मक परिणाम आउन थालेको कुरा कसैले बिर्सिन सक्दैन ।

कालापानीलाई भारतले आफ्नो नक्सामा राखेर प्रचार गरेपछि प्रचण्डले यसबारेमा प्रधानमन्त्रीसँग समेत कुराकानी गरेपछि सर्वदलीय बैठक बस्यो ।

यदि केपी ओलीको विगतको इतिहास हेर्ने हो भने यो सम्भव हुनसक्ने कुरा थिएन । किनभने महाकालीमा स्पष्टरुपमा राष्ट्रघात हुँदा समेत त्यसको पक्षमा मतदान गर्नेहरुका लागि कालापानी त्यति ठूलो विषय थिएन पनि । तर प्रचण्डको ब्रिफिङ, नयाँ परिस्थिति र आसन्न चुनावका कारण केपी ओलीले सर्वदलीय सहमति खोजे । यसका लागि ओली धन्यवादका पात्र छन् । तर नेपथ्यमा भने यसका लागि प्रचण्ड र वामदेव गौतमले खेलेको भूमिका स्मरणीय छ ।

माओवादीले भारतलाई उपयोग गरेर नेपालको सामन्तवादलाई हटाउने रणनीति लिएको भएपनि उनीहरुले भारतसँग भने सम्झौता कहिल्यै गरेनन् ।

यदि भारतसँग सम्झौता गरेको भए सम्भवतः प्रचण्डले पहिलो संविधानसभाको निर्वाचनपछिको सरकारलाई टिकाउन सक्थे । उनले वानेश्वरमा उत्तेजित भाषण गर्नुपर्ने थिए । प्रभुहरुको कुरा गर्नुपर्ने थिएन । तर कालापानीको प्रकरणले प्रचण्ड अहिले पनि वानेश्वरको भाषणको मनस्थितिमा नै छन् भन्ने कुरा पुष्टि गरेको छ । जबकि कतिपय भ्रमको प्रचार गर्ने कम्पनीहरुले उनले भारतसँग समर्पण गरेको प्रचार भने नगरेका होइनन् ।

प्रचण्डका अहिलेसम्मका गतिविधि हेर्दा उनले भारतसँग सम्मानजनक सम्बन्ध विकास गर्न खोजेका छन् । उनले भारतसँग भाइचारा सम्बन्ध चाहेका छन् । त्यत्तिकै जोरी नखोज्ने तर हेपाई भयो भने नसहने उनको नीति देखिन्छ । यो कुरा उनले अहिले कालापानीको सन्दर्भममा पुष्टि गरेका छन् ।

कालापानीको बारेमा अब सिधै प्रधानमन्त्री तहमा कुरा गर्नैपर्ने बेला आएको छ । सचिवस्तरीय छलफल या प्राविधिकरुपमा यो विषय सम्भव छैन । खासगरी कालापानी र सुस्ता, महेशपुरमा प्रधानमन्त्री तहमा वार्ता भएन भने यसले निकास दिँदैन । यो साहस प्रधानमन्त्री केपी ओलीले गर्न सके भने पक्कै पनि उनले विगतमा महाकाली सन्धीमा लागेको दाग पखाल्न सक्नेछन् । नाकाबन्दीको बेला उनले देखाएको साहस र अडानलाई अझै सुदृढ गर्न सक्नेछन् ।

प्रचण्डका लागि विदेश नीति स्पष्ट छ, उनले नेपालको सम्मानजनक उपस्थिति संसारभरी खोजेका छन् । नेपाली कतै पनि नहेपिउन र सम्मानपूर्ण रुपमा नेपाली नागरिकको स्थान होस् भन्ने उनको चाहना रहेको छ । यसका लागि समृद्ध नेपाल हुनुपर्ने उनले बारम्बार बताउँदै आएका छन् । विगतमा सुरुङ युद्दको उद्देश्य पनि यही थियो र, अहिले कालापानी प्रकरणमा भारतीय पक्षको बिरोधको पनि त्यही अर्थ हो । प्रचण्डको यो मन, र, पहललाई सम्मान गर्नैपर्छ ।

अब बल प्रधानमन्त्रीको कोर्टमा छ । आशा गरौं, उनले आम जनताको अपेक्षा अनुरुप भारतीय समकक्षी नेतृत्वसँग कालापनी र अन्य सीमा विवादबारे खुला र स्पष्ट कुरा गर्नेछन् ।

कमेन्ट गर्नुहोस्