भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौंः नेपाली भूभाग भारतले अतिक्रमण गरेको भन्दै सर्वोच्चमा रिट दर्ता भएको छ । अधिवक्ता सुजित केसी र ग्रटर नेपालका अभियान्ता फणीन्द्र नेपालले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतले अतिक्रमण गरेको फिर्ता ल्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

उनीहरूले कालापानीमा रहेको भारतीय सैनिक बललाई हटाइ नेपाली सुरक्षाकर्मी राख्न रिटमा माग गरेका छन् । रिट निवेदनमा हाल प्रचलनमा रहेको नेपालको नक्सामा लिम्पियाधुरा र लिपुलेक नरहेकाले त्यसलाई समेत समेटर नयाँ नक्सा जारी गर्नसमेत माग गरिएको छ ।

अतिक्रमित भूमी फिर्ता ल्याएर राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्न सरकारका नाममा परमादेशको माग निवेदनमा गरिएको सर्वोच्चले जनाएको छ ।

निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सशस्त्र प्रहरी बल र नापी विभागलाई विपक्षी बनाइएको छ । रिट निवेदनमाथि बिहीबारदेखि सुनुवाइ हुने छ ।

कमेन्ट गर्नुहोस्