काभ्रेमा भेटिए लिच्छवीकालीन इँटा र चौधौं शताब्दीको ‘पाइपलाइन’

काठमाडौंः काभ्रेको पाँचखाल उपत्यकामा लिच्छवीकालीन पुरातात्विक सामग्री भेटिएका छन्। पुरातत्व विभागले गरेको उत्खनन्मा लिच्छवीकालको संरचनाका रूपमा इँटा र पूर्व मध्यकालको व्यवस्थित पाइपलाइन पाइएको छ।

पाँचखाल उत्खनन्को प्रारम्भिक प्रतिवेदनमा माटोका भाँडाकुँडा, शिवलिङग भेटिएको उल्लेख छ। भेटिएका माटाका भाँडा मध्यकालीन स्वरूपका छन्। उत्खनन्मा भेटिएका इँटाको स्वरूप लिच्वकीकालीन जस्तो देखिएको प्रतिवेदनमा उल्लेख छ। ‘त्यहाँ भेटिएका इँटा अन्य स्थानमा पाइएका १४ औं र १५ औं शताब्दीका इँटासँग मेल खान्छ’, प्रतिवेदनमा भनिएको छ। पूर्ण उत्खनन् गर्न नसकिए पनि सादा प्रस्तरको प्रयोग भएको छ।

पाँचखाल नगरपालिका–७ को श्रीरामपाटीस्थित सहरी स्वास्थ्यचौकी अगाडि सार्वजनिक जग्गामा ३ मिटर लामो र २ मिटर चौडा भागको उत्खनन् गरिएको थियो। तत्कालीन समयमा माटोको डुँड बनाइ इँटाको गाह्रोभित्र राखेर पानी लिएको भेटिएको हो। यो पानी रानीपोखरीमा लगिएको भन्ने स्थानीय भनाइ पुष्टि गर्न थप उत्खनन् गर्नुपर्ने बताइएको छ।

श्रीराम ५ सय भन्ने स्थानमा कुलोमुनि ज्ञानु ढकालको खेतमा डोजर लगाउँदा भित्तामा पानीको व्यवस्थापन गर्ने पाइप भेटिएको छ। किटनीका मुक्तिनाथ दंगालको बारीको भित्तामा इँटाको गारो पाइएको छ। प्रतिवेदन अनुसार गारोको लम्बाई २५ सेन्टिमिटर र चौडाई १५ सेन्टिमिटर छ। उत्खनन्मा संलग्न वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यले पाँचखालमा पूर्वमध्यकालमा पानीको व्यवस्थापन उच्चतम रहेको बताए।

उनले भेटिएका संरचनाको थप वैज्ञानिक परीक्षण आवश्यक रहेको उल्लेख गरे। ‘१४ औं र १५ औं शताब्दीमा प्रयोग भएको जस्तो देखिन्छ, यसको वैज्ञानिक परीक्षण हुनसके निश्चित समय निर्धारण हुनसक्छ’, उनले भने। पाँचखाल मल्टारको एउटै ट्रेन्चमा मात्र उत्खनन् गरिएको थियो। यसको पूर्वाभिमुख सेक्सनको पहिलो लेयरमा घाँस र तरकारीका जरा, ढुंगाका साना टुक्रा मिसिएको फुस्रो खुकुलो माटोबाट बनेको छ। यो लेयरको गहिराई १० सेन्टिमिटर छ।

दोस्रो लेयर पहेँलो रंगको कडा माटोबाट बनको छ। यो लेयरको माटोमा ठूल्ठुला ढुंगा र स–साना इँटाका टुक्रा मिसिएको छ। यसको गहिराइ ४७ सेन्टिमिटर छ। तेस्रो लेयर हल्का खुकुलो माटोबाट बनेको छ। ४० सेन्टिमिटर गहिराइ भएको यो लेयरमा माटोमा स–साना ढुंगाका टुक्राहरू मिसिएका छन्। चौथो लेयर पहेँलो रंगको खदिलो माटोबाट बनेको र पाँचौं लेयर कालो रंगको लेस्साइलो कडा रंगको माटोबाट बनेको छ। अन्नपूर्ण पोष्ट्बाट साभार

कमेन्ट गर्नुहोस्