उपनिर्वाचनमा भाग लिँदै विप्लव समूह, थवाङमा उम्मेदवारी दर्ता

काठमाडौँ, सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले रोल्पामा हुने उपनिर्वाचनमा भाग लिएको छ । मंसीर १४ मा थबाङ गाउँपालिका–१ को वडाध्यक्षका लागि हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वार खडा गरेर विप्लव समूह पनि सहभागी भएको हो ।

विप्लव समूहको तर्फबाट वडा सदस्य भद्रकुमार झाँक्रीले सदस्यबाट राजीनामा दिएर बुधबार वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका हुन् । उनी यसअघि १४ असार २०७४मा भएको स्थानीय तह निर्वाचनमा सोही वडाको सदस्यमा स्वतन्त्रबाट निर्वाचित भएका थिए ।
वडा अध्यक्षमा उम्मेद्वारी दिन उनले २६ कात्तिकमा गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीसमक्ष राजीनामा बुझाएका थिए ।

थबाङ गाउँपालिका १ को वडाध्यक्षका लागि झाँक्री अतिरिक्त अन्य दुई जनाले पनि मनोनयन दर्ता गराएका छन् । मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बुधबार नेकपा, कांग्रेस र प्रतिबन्धित चन्द समूह समर्थित एक स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार झाँक्रीले उनले गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरसमक्ष राजीनामा बुझाएर वडाअध्यक्षमा आफ्नो दाबी पेस गरेका छन् । मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीका अनुसार झाँझी, नेकपाका जनकबहादुर बुढामगर र कांग्रेसका कलम रोकामगरको उम्मेदवारी परेको छ ।

स्थानीय निर्वाचनमा पनि चन्द समर्थित वडाध्यक्ष फर्कबहादुर बुढामगरको प्यानलै विजयी भएको थियो । बुढामगरको गत असार ६ मा मस्तिष्कघातबाट मृत्यु भएको थियो । उनले सत्तापक्षीय नेकपाका उम्मेदवारलाई फराकिलो मतान्तरमा हराएका थिए ।

गत स्थानीय निर्वाचनमा थबाङका ५ मध्ये ४ वटा वडासहित अध्यक्ष र उपाध्यक्षमा नेकपा समर्थित उम्मेदवार विजयी भएका थिए ।

कमेन्ट गर्नुहोस्