काठमाडाैँ, सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ अन्तर्गत उपनिर्वाचन हुने सबै पदमा उम्मेदवारी दिएको छ । प्रदेश २ मा एक गाउँपालिका अध्यक्ष र ९ वडाध्यक्षका लागि मंसिर १४ मा उपनिर्वाचन हुँदै छ ।
पहिलो पटक निर्वाचनमा सहभागी भएको उक्त पार्टीले महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा अन्जनीदेवी मण्डललाई उठाएको छ ।
राजपाबाट निर्वाचित विनोद चौधरीको मृत्युपछि रिक्त पदका लागि दलका ११ र स्वतन्त्र ९ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए ।
अलग मधेस राज्यको नारा दिएर विभिन्न गतिविधि गर्दै आएका राउतले ०७५ फागुनमा सरकारसँग सहमति गरेका थिए । त्यसलगत्तै उनले जनमत पार्टी गठन गरेका थिए ।