संरक्षणको पर्खाइमा सिन्धुलीगढी, अस्तीत्व नै संकटमा रहेको सरोकारवालाको भनाइ

सिन्धुलीगढी, । पुरातात्त्विक महत्त्व एवं सम्पदा संरक्षणको ख्याल नगरी पर्यटन विकासको पहल थालिँदा ऐतिहासिक सिन्धुलीगढी सम्पदा सङ्कटमा परेको छ ।

गढीको ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व र सम्पदा सङ्कटमा पर्दै गएकोमा पुरातìवविद् एवं इतिहासकारहरू चिन्तित बनेका छन् ।

न्धुलीगढीको ऐतिहासिक गरिमा र महìवलाई बुझ्न नसकिएकोप्रति चिन्ता व्यक्त गर्दै इतिहासकार प्रा. दिनेशराज पन्तले भने, “ऐतिहासिक स्थल र सम्पदा बरु त्यत्तिकै रहनु ठीक छ । ऐतिहासिक सम्पदा स्थलमाथि नयाँ निर्माणको शिलान्यास गर्नु भनेको सम्पदाको अन्त्य गर्नु हो ।” उनले पर्यटन विकासका नाममा ऐतिहासिक सम्पदामाथि बेवास्ता भएकोसमेत बताए ।

उहाँले सम्पदा क्षेत्रमा नयाँ संरचना निर्माणले पछिका अनुसन्धानमा गम्भीर असर पार्ने भन्दै सिन्धुलीगढी क्षेत्रमा वैज्ञानिक ढङ्गले खोज र अनुसन्धानसहित वीरगाथालाई सम्झाउने गरी पर्यटनको विकास गरिनुपर्ने बताए । उनले सिन्धुलीगढी युद्ध एकीकृत नेपाल निर्माणको आधार भएकाले यसको गरिमा, ऐतिहासिक महत्व र पुरातात्त्विक जीवन्ततालाई जोगाउनुपर्ने बताए ।

पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले सिन्धुलीगढी क्षेत्रमा निर्माण भइरहेका सिँढी, प्रतीक्षालय, टहरा, स्तम्भलगायत संरचना पुरातात्त्विक मापदण्डभन्दा बाहिर रहेको बताए  । उनले भने, “पुराना संरचनालाई पुरेर नयाँ निर्माण गर्न मिल्दैन ।” उनले सिन्धुलीगढीको अवस्था अध्ययनका लागि पुरातत्त्वले कर्मचारी खटाइसकेको र अध्ययनपछि नै थप कारबाही अगाडि बढ्ने बताए ।

पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत मञ्जुसिंह भण्डारीले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार नै गढी किल्लाको संरक्षण र व्यवस्थापन हुनुपर्ने बताइन् । उनले सिन्धुलीगढी क्षेत्रमा पुरातात्त्विक मापदण्डविपरित निर्माण गरिएका संरचनाले सम्पदा संरक्षणमा गम्भीर समस्या निम्त्याएको बताइन् ।

उनले बीपी राजमार्ग निर्माणका क्रममा पौवागढी नै सङ्कटमा परेको तर लामो विवादपछि संरक्षण गर्न सकिएकोसमेत बताइन् । उनले भनिन् , “सिन्धुलीगढी क्षेत्र यसरी बिगारिएको छ कि त्यसको संरक्षणमा निकै जिम्मेवार पहल आवश्यक छ ।”

सिन्धुलीगढीको विकास र संरक्षणमा लामो समयदेखि पहल हुँदै आएको छ । स्थानीय सरकार गठनपछि कमलामाई नगरपालिकाले पनि गढीको संरक्षण र विकासमा काम गर्दै आएको छ । यद्यपि, विकासका प्रयासहरू पुरातात्त्विक मापदण्डविपरित भएकोमा सम्पदा संरक्षण अभियन्ताहरूले प्रश्न उठाउँदै आएका छन् ।

समृद्ध सिन्धुली अभियानका सौरभ ढकालले सिन्धुलीगढी र त्यस वरपरको ऐतिहासिक सम्पदालाई नष्ट हुने गरी नयाँ निर्माण थालिएकोमा आपत्ति प्रकट गरे । उनले भने , “सम्पदा क्षेत्रमा नयाँ संरचना बनाउनुअघि त्यहाँ पहिला के थियो भन्ने अध्ययन र पुरातात्त्विक अन्वेषण नगरी पर्यटन विकासका नाममा निर्माणतिर मात्र ध्यान दिनु हुँदैन ।”

उनले ऐतिहासिक सम्पदास्थललाई ठेक्काका रूपमा नभई स्थानीयवासीको सहभागितामा संरक्षण र व्यवस्थापनमा बढी ध्यान दिनुपर्ने बताए ।

सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ मा सिन्धुलीगढी रहेको छ । कप्तान किनलकको नेतृत्वमा आएको इस्ट इन्डिया कम्पनीको अङ्ग्रेज फौजलाई १८२४ असोज १५ गते गोर्खाली फौजले पौवागढीमा परास्त गरेको इतिहासकार प्रा. दिनेशराज पन्तले स्पष्ट पारे ।

सिन्धुलीगढी क्षेत्रमा ठूलोगढी, पौवागढी (आड) र सानोगढी गरी तीनवटा गढी छन् । सो गढीलाई रणबहादुर शाहको पालामा समेत मर्मत गरिएको शिलालेखमा उल्लेख छ । गढी क्षेत्रका शिलालेख, मूर्तिहरू टुटफुट मात्र होइन, कतिपय बेपत्तासमेत भइसकेको छ ।

मल्लकालीन सो गढीगौँडाबाटै राणाकालमा समेत पूर्व २ नम्बरको प्रशासनिक कार्यसमेत सञ्चालन हुने गरेको थियो । सो क्षेत्रमा रानी दरबार, अदालत, प्रहरी चौकी, भीमसेन मन्दिरलगायत थुप्रै पुरातात्त्विक महत्त्वका धरोहर जमिनमुनि बिलाइसकेको कमलामाई नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष खड्गप्रसाद चौलागाईंले बताए ।

उनका अनुसार पुरानो चौकी भएको स्थानमा अहिले स्तम्भ गाडिएको छ । सिन्धुलीगढीको पुरानो चौकी गढीचौकीकै नाममा खनियाँखर्कमा स्थापना गरिएको छ ।

उनले सिन्धुलीगढी क्षेत्रमा प्रदेश सरकारको बजेटबाट रानी दरबार र रक्षा मन्त्रालयको बजेटबाट सङ्ग्रहालय निर्माण हुने प्रक्रियामा रहेको जानकारी दिए । उनका अनुसार स्थानीय सरकार आउनु अगाडि नै ठूलोगढी जाने सिँढी, गढीमा सिमेन्ट प्रयोग गरिएको तर सानोगढीमा चुनासुर्कीकै प्रयोग गरी संरक्षण प्रयास भएको थियो । अहिले कमलामाई नगरपालिकाले गढी क्षेत्रमा रिसोर्ट सञ्चालनका लागि प्रस्तावसमेत माग गरेको छ ।

वडा अध्यक्ष चौलागाईंका अनुसार रानी दरबारभन्दा माथितिर बसेरी जाने बाटोको जङ्गलको करिब १३ रोपनी क्षेत्रफलमा रिसोर्टको प्रस्ताव आह्वान गरिएको हो । नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ ले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा आवश्यक संशोधन गरी प्रादेशिक महत्त्वको प्राचीन स्मारक सम्बन्धित प्रदेशलाई र स्थानीय महत्त्वको प्राचीन स्मारक सम्बन्धित स्थानीय तहलाई संरक्षण र व्यवस्थापनको जिम्मा दिइएको छ ।

सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमध्ये एक ऐतिहासिक सिन्धुलीगढी सम्पदा पनि हो । स्थानीय तहबाट ऐतिहासिक सम्पदा स्थललाई पर्यटकीय विकास गर्ने योजना राम्रो भए पनि त्यस्ता कार्य पुरातात्त्विक मापदण्डभित्र रहेर गर्नुपर्ने पुरातात्त्व अधिकृत भण्डारीले बताए । गोरखापत्रबाट

कमेन्ट गर्नुहोस्