कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिछ्याउन टेलिकमलाई ८ अर्बको ठेक्का

काठमाडौंः कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने परियोजना सरकारी स्वामित्वको नेपाल टेलिकमले पाउने प्रक्रियाको अन्तिम टुङ्गो लागेको छ ।

यसअघि निजी क्षेत्रको सेवाप्रदायक स्मार्ट टेलिकमले पाएको उक्त परियोजना मन्त्रिपरिषबाटै नेपाल टेलिकमलाई दिने निर्णय भएपछि दूरसञ्चार प्राधिकरणले सोहीअनुरुप अन्तिम टुङ्गो लगाएको हो । प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालका अनुसार सोमबार बसेको बोर्ड बैठकले स्मार्टको उक्त परियोजना मन्त्रिपरिषद्को निर्णयानुसार नेपाल टेलिकमलाई दिने निर्णय गरेको जानकारी दिए । उनका अनुसार यसै हप्ता टेलिकमसँग उक्त परियोजनाको विषयमा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । त्यसपछि प्राविधिक योजना माग गरेर अन्तिम सम्झौताको प्रक्रिया अगाडि बढाइने उनले बताए ।

याे पनि पढ्नुस  सुदूरपश्चिममा भूकम्पको धक्का

नेपाल दूरसञ्चार प्राधिकरणले २०७४ साउन ३ गते प्रदेश ६ को रुकुमको मुसिकोटदेखि दार्चुलाको झुलाघाटसम्म फाइबर बिछ्याउने जिम्मा प्रतिस्पर्धाका आधारमा छानिएको स्मार्ट टेलिकमलाई दिने निर्णय गरेको थियो । स्मार्टले करिब तीन अर्ब ९४ लाख रुपियाँ लागतमा उक्त परियोजना पूरा गर्ने प्रस्ताव पेस गरेको थियो । दुई वर्षभित्र उक्त परियोजना पूरा गर्नुपर्ने सम्झौता गरिएको भए पनि सम्झौताअनुसार परियोजनाको काम हुन नसकेको भन्दै प्राधिकरणले कात्तिक १ गते सम्झौता रद्द गरेको थियो । सम्झौता रद्द भए पनि अदालती प्रक्रियामा पुगेको स्मार्टको पक्षमा आदेश प्राप्त नभएपछि प्राधिकरणले नेपाल टेलिकमलाई दिने विषयमा अन्तिम टुङ्गो लगाएको हो ।

याे पनि पढ्नुस  ५० र १०० को रिचार्ज गर्दा शत प्रतिशत बोनस

देशैभर सूचना महामार्ग बनाउने अभियान अन्तर्गत प्राधिकरण अन्तर्गतको ग्रामीण दूरसञ्चार विकास कोषको करिब १० अर्ब रुपियाँ उपयोग गरी मध्यपहाडी लोकमार्ग हुँदै अप्टिकल फाइबर बिछ्याउने परियोजना अगाडि सारिएको थियो । त्यसमध्ये स्मार्टले कर्णाली र सुदूरपश्चिममा सम्झौताअनुसार करिब दुई हजार ५१२ किलोमिटर फाइबर बिछ्याउनुपर्ने थियो । १९ जिल्ला समेटिने उक्त परियोजनामा फाइबर बिछ्याउँदा एक हजार ७६० किलोमिटर भूमिगत गर्नुपर्ने थियो । यद्यपि उक्त काम निर्धा्रित समयमा हुन नसकेपछि रद्द गर्ने निर्णयमा प्राधिकरण पुगेको थियो ।

याे पनि पढ्नुस  सुदूरपश्चिमका नेता-सांसद र उद्योगमन्त्री भट्टबीच छलफल

नेपाल टेलिकमले त्यसअघि पनि प्रदेश १, २ र ३ अन्तर्गत अप्टिकल फाइबर बिछ्याउन चार अर्ब ८७ करोड रुपियाँको परियोजना पाइसकेको थियो । गत जेठ पहिलो साता धादिङको गल्छीसहित विभिन्न जिल्लाबाट फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात टेलिकमले गरेको थियो । वर्षाका कारण फाइबर बिछ्याउने काम केही अवरुद्ध भए पनि पछिल्लो समय भौतिक प्रगति राम्रो भइरहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । स्मार्टको परियोजना पनि नेपाल टेलिकमले पाएपछि कम्पनीले करिब आठ अर्ब रुपैयाँको ठेक्का आफ्नो हातमा पारेको छ । गोरखापत्र

कमेन्ट गर्नुहोस्