प्रहरीले दुई वटा बाख्रालाई गिरफ्तार गरेपछि

काठमाडौँ, भारतको दक्षिणी राज्य तेलंगानामा दुई बाख्रालाई प्रहरीले गिरफ्तार गरेको समाचार भारतीय समाचार माध्यमहरूले प्रकाशित गरेका छन्। यहाँको करिम्नगर जिल्लाका हजुराबाद भन्ने सहरमा मंगलबार प्रहरीले एउटा गैरसरकारी संस्थाले लगाएका बिरुवा चरेको आरोपमा गिरफ्तार गरेको थियो।

स्समचार अनुसार ‘सेभ द ट्रीज’ नाम गरेको एउटा गैरसरकारी संस्थाले त्यहाँको सरकारी अस्पताल परिसरभिर वृक्षरोपण गरेको थियो। तीमध्ये एक सय ५० जति विरुवा बाख्राहरूले चरेपछि उक्त गैरसरकारी संस्थाका कार्यकर्ताहरुले तीमध्ये दुई बाख्रा पक्रेर प्रहरीलाई बुझाइदिएका थिए। दुवै बाख्रा एक हजार रुपैयाँ जरिवाना तिरेपछि मालिकलाई सुम्पिएको स्थानीय प्रहरीले बताएको छ।

प्रहरीले भने भारतीय कानुनमा पशुपक्षीलाई गिरफ्तार गर्ने या सजाय दिने प्रावधान नभएकाले बाख्राहरूलाई गिरफ्तार गरेको नभई नियन्त्रणमा मात्र लिइएको बताएको छ।

कमेन्ट गर्नुहोस्