उपनिर्वाचन नेकपाले जिते देश फासिवाद तर्फ जाने डा. भट्टराईको भनाइ

काठमाडौँ, समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मंसिर १४ मा हुने उपनिर्वाचन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको पक्षमा गए त्यसले निरंकुशता र फाँसीवादलाई प्रोत्साहन गर्ने उल्लेख गरेका छन्।

बिहीबार काठमाडौंमा भएको पार्टीको संघीय परिषद् बैठकमा भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा उपनिर्वाचन सत्तारूढ पार्टी नेकपाको जनमत नाप्ने ब्यारोमिटर पनि भएको बताएका छन्।

‘उपनिर्वाचन सत्तारूढ पार्टीप्रतिको जनमतको आकर्षण वा विकर्षण नाप्ने ब्यारोमिटर पनि हो,’ भट्टराईले तयार पारेको प्रतिवेदनमा भनिएको छ, ‘यति धेरै नालायकी, भ्रष्टता र अकर्मण्यताका बाबजुद मतपरिणाम नेकपाकै पक्षमा देखिएमा त्यसले निरंकुशता र फाँसीवादलाई प्रोत्साहन गर्नेछ। त्यो कसैको हितमा हुने छैन।’

एक संघीय निर्वाचन क्षेत्र, तीन प्रदेशसभा र रिक्त स्थानीय तहमा हुने उपनिर्वाचनमा समाजवादी पार्टीले पनि भाग लिएको भट्टराईले उल्लेख गरेका छन्।

‘एक–यो पार्टी एकतापछिको पहिलो निर्वाचन हो । परिणाममा कुनै न कुनै मात्रामा एकताको प्रभाव झल्किनु पर्दछ । हारजित आफ्नो ठाउँमा होला, तर निर्वाचन परिचालन, मत सुधार र जित्ने अधिकतम् प्रयासका हिसाबले कुनै कसर बाँकी राख्नु हुँदैन,’ भट्टराईले भनेका छन्।

उनले समाजवादी पार्टी तेस्रो पार्टी नभई विचारका आधारमा तेस्रो ध्रुव हुन चाहेको बताएका छन्।

‘अझै पनि कांग्रेस– कम्युनिष्टजस्ता पुरानै दलमा जनमत अभिव्यक्त भइरहने हो भने तेस्रो ध्रुव र वैकल्पिक पार्टी निर्माणको अभियानमाथि प्रश्न उठ्ने हुन्छ। तसर्थ आसन्न उपनिर्वाचनलाई हाम्रो पार्टीले अत्यन्त महत्वपूर्ण संघर्षका रूपमा लिनु पर्दछ,’ भट्टराईले बैठकमा पेश गरेको प्रतिवेदनमा भनिएको छ।

संविधान संशोधनको मुद्दामा भने जनताको साथ लिएर अघि बढ्नु पर्ने भट्टराईको सुझाव छ।

‘वर्तमान संविधान निर्माणको बखतदेखि नै हामी दुबै पूर्ववर्ती पार्टीले संविधान संशोधनको माग गर्दैआएका थियौं। समाजवादी पार्टी यो सवालमा उत्तिकै दृढ र प्रतिवद्ध छ। तर, हाम्रो मागले मात्र संविधान संशोधन भइहाल्ने अवस्था छैन। यसका लागि सशक्त जनसंघर्ष विकासमा जोड दिनुपर्दछ। ठोस योजना बनाएर जनमत निर्माण गर्ने र निर्णायक संघर्ष विकास गर्ने निरन्तर प्रयास गर्नुपर्दछ। साथै संघ, प्रदेश र स्थानीय स्तरमा जनसरोकारका विभिन्न सवालमा समेत हामीले जनसंघर्ष विकास गर्न जोड दिनु पर्दछ,’ प्रतिवेदनमा भनिएको छ।

समाजवादी पार्टीले कांग्रेस, कम्युनिष्ट र राप्रपासँग पार्टी एकता हुन नसक्ने बताउँदै राजपा र जनमुक्ति पार्टीजस्ता शक्तिसँग भने निरन्तर प्रयास गर्नु पर्ने उल्लेख गरेको छ। सेतोपाटीबाट

कमेन्ट गर्नुहोस्