पहिलो खेलमा भारतसँग नेपालकाे लज्जास्पद हार

काठमाडौंः आजदेखि बंगलादेशमा सुरु भएको एमसीसी इमर्जिङ एसिया कपको पहिलो खेलमा भारतविरुद्ध नेपाल ७ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ९४ रनको मध्यम लक्ष्य भारतले ४२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतको जितमा शनवीर सिंहले ५६, कप्तान बेलुर रवि शरथले ४९, अर्मन जफिरले नटआउट ५१, आर्यन जुयालले २९ रन बनाए ।

बलिङमा नेपालका करन केसी, सुशन भारी र ललित नारायण राजवंशीले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९३ रन बनायो ।

नेपालका लागि पवन सरार्फले ५६, शरद भेषवाकरले ४४, दीपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेलले २८, करन केसीले २०, विनोद भण्डारीले ५ रन बनाए । खेल ५० ओभरको हो । बलिङमा भारतका शौरभ दुवेले सर्बाधिक ४ विकेट लिए ।

प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह बी’ मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन् । समूह ‘ए’ मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् ।

यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा नेपालले नोभेम्बर १८ मा बंगलादेशको सामना गर्नेछ । प्रतियोगितामा यूएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने अवसर पाएको हो ।

कमेन्ट गर्नुहोस्