बंगुरको वीर्य बेचेरै करोडपति

दमकः एउटा बंगुरबाट आम्दानी कति लिन सकिएला? अनि एउटा बंगुरको मूल्य कति होला? भन्ने जिज्ञासा जो कोहीसँग हुन सक्छ । झापाका एक बंगुर पालक किसानले एउटै बंगुरबाट मासिक एक लाखभन्दा बढी आम्दानी लिइरहेका छन् भनेर सुन्दा सबैलाई अचम्म लाग्न सक्छ ।

झापा कमल गाउँपालिकाका वडा नं. ५ का ४६ वर्षीय अगुवा बंगुरपालक किसान सञ्जिवकुमार राईले बिभिन्न विदेशी प्रजातिका बिउ बंगुरबाट लाखौँ आम्दानी लिँदै आएका छन् ।

उनले बंगुरको वीर्य भण्डारण प्रयोगशाला बनाएर वीर्य संकलन गरी बिक्री गर्दै आएका छन् । एउटा बंगुरलाइ एक पटक कृत्रिम गर्भधान (एआइ) का लागि आवश्यक वीर्य १ हजार रुपैयाँमा उपलब्ध गराउने गरेको उनले बताए । उन्नत नश्लको बंगुरबाट वीर्य निकालेर अन्य दर्जनौं पोथी बंगुरमा लगाउन सकिन्छ, उनले भने ।

याे पनि पढ्नुस  बंगुरको मासु चीनतर्फ निर्यात गर्न नेपाल इच्छुक

प्राकृतिक प्रक्रियाबाट पोथी बंगुुरलाई गर्भधारण गराउँदा एउटा भाले बंगुरको वीर्य खेर जाने हुनाले यस पद्धतिबाट गरिएको वीर्य संकलनले १० देखि २५ बंगुरलाई गर्भधारण गराउन सकिने उनको भनाई छ ।

हप्तामा अहिले एकपटक उन्नत नश्लको बंगुरबाट वीर्य संकलन गर्ने गरेको र महिनामा एकलाख रुपैयाँसम्म यसबाट आम्दानी लिन सकिएको उनको भनाई रहेको छ । वीर्य संकलन र बिक्रीका लागि मात्र उनले आकर्षक र सुविधा सम्पन्न खोर बनाएर बिभिन्न प्रजातिका २७ वटा नश्ल बंगुरहरु पालेका छन् । उनले नश्ल सुधार गरेर निकालिएको सानो भाले बंगुर १ लाख ५० हजार रुपैयाँमा केही समय अघि बिक्री गरेको बताए ।

याे पनि पढ्नुस  यी हुन् वीर्यसम्बन्धी रोचक तथ्य

उनले अमेरिकाको स्वाइन जेनेटिक इन्टरनेशनल (एसजीआई) कम्पनीबाट ल्याइएको वीर्यबाट बंगुरमा कृतिम गर्भधारण गराउँदै आएका छन् । राईले हेम्पसायर, ल्यान्द्रइज, योर्कसायर, ड्युरोक, मेसन लगायतका उन्नत जातका वंगुरको वीर्य संकलन गरेर पूर्वी नेपाल सहित भारतमा समेत बिक्री गर्दै आएका छन् । उनले भने, ‘शुरुवातमा त यो कसैले पत्याएका नै थिएनन् तर अहिले नपात्याउने कम छन् ।’

एउटा उन्नत नश्लको भाले बंगुरबाट हप्तामा नै एकलाख रुपैयाँसम्म आम्दानी लिन सकिने भएकाले आफूले बेच्नु परेको अवस्थामा १५ देखि २० लाख रुपैयाँसम्ममा बेच्ने पनि उनको भनाई छ ।

याे पनि पढ्नुस  प्याज खेती गरेर महिना दिनमै करोडपति

२०६१ सालदेखि व्यवसायिक रुपमा बंगुर पालन शुरु गरेका उनका खोरहरुमा मासु तथा बच्चा उत्पादनका लागि पालिएका बिभिन्न प्रजातिका ३०० भन्दा बढी बंगुर समेत रहेका छन् । नीजि स्तरबाट नेपालमा नै आफ्नो नमुना बंगुर फारम र वीर्य संकलन केन्द्र रहेको उनको दाबी छ । राइले ५५० रुपैयाँमा एउटा बंगुरको पाठो किनेर शुरु गरेको व्यवसाय अहिले ५ करोडभन्दा माथिको पुगेको छ भने वार्षिक कमाइ करोड नाँघ्न थालेको छ । गोरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्