नघट्ने भयो सेनाको पेन्सन अवधि, मन्त्रालयद्वारा प्रस्ताव अस्वीकृत

काठमाडौं– नेपाली सेनाले निवृत्तिभरण (पेन्सन) को अवधि घटाउन गरेको प्रस्ताव अस्वीकृत भएको छ ।

तल्लो दर्जाका सैनिकको गुनासो आएपछि १९ भदौमा जंगी अड्डाले पेन्सन अवधि घटाएर १६ वर्ष बनाउने प्रस्ताव पेश गरेको थियो । तर, अर्थ मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट सैनिक सेवा नियमावलीको नियम ८० को संशोेधन मस्यौदा सम्बन्धी सेनाको प्रस्ताव अस्वीकृत भएको हो ।

यसअघि उमेर घटाउने संशोधन प्रस्तावमाथि परामर्श र रायका लागि भन्दै रक्षा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र लेखेको थियो ।

जवाफमा अर्थ मन्त्रालयले पठाएको पत्रमा भनिएको छ, ‘नेपाल सरकारको पेन्सनको दायित्व बढ्दै गएको अवस्था र अन्य सरकारी सेवामा रहेको अवकाश र पेन्सन सम्बन्धी व्यवस्थामा एकरुपता कायम गर्नुपर्ने आवश्यकता समेतलाई विचार गर्दा निवृत्तभरण पाउने सेवा अवधि घटाएर संशोधनको प्रस्तावमा सहमत हुन सकिँदैन ।’

पत्रमा निजामती सेवामा अवकाश हुने उमेर बढाउन छलफल भइरहेको पनि उल्लेख छ । निवृत्तभरण वृद्धिको अनुपात घटाउनका लागि कर्मचारीले बीचैमा सेवाबाट अलग भए पनि अनिवार्य अवकाश हुने उमेर पुगेपछि मात्र निवृत्तभरणका लागि योग्य हुने गरी कानून व्यवस्था गर्नुपर्ने समेत अर्थको पत्रमा उल्लेख गरिएको छ । स्रोतः अनलाइन खबर

कमेन्ट गर्नुहोस्