टी–१० लिगः आन्द्रे चम्किँदा वारियर्स विजयी, युवराजको टिमको लज्जास्पद हार

काठमाडौंः आजदेखि यूएईमा सुरु भएको टी–१० क्रिकेट लिगको पहिलो खेलमा नर्थन वारियर्स विजयी भएको छ ।

मराठा अरेबियनलाई ९ विकेटले हराउँदै वारियर्स विजयी भएको हो ।

मराठाले दिएको ८९ रनको सामान्य लक्ष्य वारियर्सले ७ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरे ।

उनले ४ चौका र ६ छक्काको मद्दतमा २४ बलमा नटआउट ५८ रन बनाए । वारियर्सको जितमा जर्ज मुन्सेले पनि नटआउट २४ रनको योगदान दिए ।

विकेटकीपर ब्याट्सम्यान साम बिलिंग्स भने १ रनमै आउट भए । बलिङमा नर्थनका डिजे ब्रावोले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको मराठाले निर्धारित ओभरमा ६ विकेट गुमाएर ८८ रन बनाए ।

उसका लागि दसुन शनाकाले नटआउट ३७, चाडविक वाल्टनले २४, जेम्स फुलरले १३ रन बनाए ।

अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा नर्थनका क्रिस उड, आन्द्रे रसेलले २–२, नुवान प्रदीप र रायद इमरितले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्