श्रीमतीसँगैको फोटो देखेपछि युवकको हत्या !

राजविराजः श्रीमतीसँगै बसेर फोटो खिचाएका युवकको हत्या गर्ने अभियुक्तलाई सार्वजनिक गरिएको छ ।

श्रीमती र गाउँकै एक युवकको फोटो सँगै देखेपछि युवकको हत्या गर्ने अभियुक्तसहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरी थुनामा राखेको हो ।

जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलाशले सप्तरीको सुरुङ्गा नगरपालिका–३ विषहरियाका ४६ वर्षीय महेन्द्र सदा र २५ वर्षीय अनील सदालाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको हो ।

दुई वर्ष पाँच महिनाअघि सोही ठाउँ बस्ने १९ वर्षीय फुल्चनकुमार मण्डललाई विष खुवाइ हत्या गरेको अभियोगमा उनीहरू असोज ३० गते पक्राउ परेका थिए ।

‘श्रीमती र अविवाहित फुल्चनले सँगै खिचेको फोटो फेला पारेपछि उनीहरूबीच प्रेम सम्बन्ध रहेको ठानी वैदेशिक रोजगारबाट फर्किए लगत्तै महेन्द्रले योजना बनाएर हत्या गरेका रहेछन्’ इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले भने।

केशरीका अनुसार रक्सी खान बजारमा बोलाइ विषादी मिसाएको रक्सी खुवाएर सुनियोजित तरिकाले हत्या गरी फरार रहेका महेन्द्र र अनीललाई पक्राउ गरी अदालतमा बुझाइएको हो ।

कमेन्ट गर्नुहोस्