टी–१० लिगः वाट्सनको टिमविरुद्ध दिल्लीको शानदार जित, मोर्गनको अर्धशतक

काठमाडौंः आजदेखि यूएईमा सुरु भएको टी–१० लिगको दोस्रो खेलमा डेक्कन ग्लेडिएटरविरुद्ध दिल्ली बुल्स ७ विकेटले विजयी भएको छ ।

डेक्कनले दिएको १ सय ३ रनको लक्ष्य दिल्लीले ९.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि कप्तान इओन मोर्गन र एन्जेलो म्याथ्यूजले उत्कृष्ट ब्याटिङ गरे । कप्तान मोर्गनले ३ छक्का र ५ चौकाको मद्दतमा २७ बलमा नटआउट ५२ रन बनाए ।

यस्तै म्याथ्यूजले १ छक्का र २ चौकाको सहयाेगमा १३ बलमा नटआउट २२ रनको योगदान दिए ।

कुसल परेरा ८, पउल स्टर्लिङ ११ र मोहम्मद उश्मान ७ रनमा आउट भए ।

बलिङमा डेक्कनका जाहिर खानले २ ओभरमा १७ रन दिएर महत्वपूर्ण ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको डेक्क्नले निर्धारित १० ओभरमा १  विकेट गुमाएर १ सय २ रन बनायो ।

उसका लागि कप्तान शेन वाट्सनले अर्धशतक बनाए । उनले २ छक्का र ५ चौकाको मद्दतमा ३१ बलमा नटआउट ५७ रन बनाए ।

यस्तै एन्टोन डेभिसिचले  नटआउट २८ रनकाे याेगदान दिए । मोहम्मद सहजाद भने ११ रनमा आउट भए । बलिङमा दिल्लीका दुश्मन्था चामेराले एक विकेट लिए ।

आजै भएको पहिलो खेलमा मराठा अरेबियनविरुद्ध नर्थन अमेजन ९ विकेटले विजयी भएको छ ।

यस्तै आज नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काआवद्ध टिम आबुधावीले पनि खेल्दै छ ।

समूह ‘बी’ मा रहेको आबुधावीले पहिलो खेलमा कलन्दर्सको सामना गर्न लागेको हो ।

पहिलो पटक विदेशी फ्रेन्चाइजी लिग खेल्ने तयारीमा रहेका पारस दुई दिन अगाडि टिमको प्रशिक्षणमा समावेश भएका थिए । उनले यो प्रतियोगिताका लागि उत्साहित रहेको धारणा राखेका थिए ।

पारसको टिममा मोइन अलि कप्तान रहेका छन् । यता कलन्दर्सको नेतृत्व पाकिस्तानी क्रिकेट टिमका पूवकप्तान शाहिद अफ्रिदीले सम्हाल्दै छन् । आवुधावी र कलन्दर्सबीचको खेल नेपाली समयअनुसार राति १०ः४५ बजेदेखि सुरु हुनेछ ।

यस्तै यो संस्करणको टी–१० मा अर्का नेपाली क्रिकेटर सन्दप लामिछाने कर्नाटका टसकसबाट खेल्दै छन् । उनले कर्नाटकले पहिलो चरणमै लिएको थियो ।

हासिम आम्ला मार्की खेलाडी रहेको कर्नाटकाले पहिलो चरणमै लिएकाले सन्दीपले ४५ हजार डलर पारिश्रमिक पाउने छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिता अनिवार्य सदस्य बनिसकेका सन्दीप अघिल्लो सिजनमा केरला नाइट्सबाट खेलेका थिए ।

कमेन्ट गर्नुहोस्