सीमा निर्धारणका लागि गाडिएका स्तम्भ अब ‘डिजिटल’मा

काठमाडौंः नेपाल र भारतको सीमा निर्धारणका लागि गाडिएका सीमास्तम्भको अद्यावधिक नापी विभागसँग तयारी अवस्थामा छ । प्रत्येक स्तम्भको अवस्थिति र निर्देशाङ्कलगायतको विस्तृत विवरणसहित ‘डाटाबेस’ तयार पारिएको छ । त्यस्तो अद्यावधिक अब ‘डिजिटल’ रूपमा हुनेछ ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले नम्बर अनुसार प्रत्येक सीमास्तम्भको सम्पूर्ण तथ्याङ्कसहितको ‘डाटाबेस’ विभागसँग रहेको जानकारी दिए । नक्साको कोर्डिनेट
(अवस्थिति) भएको हुँदा पिलर सार्ने सम्भावना हुन नसक्ने र सारिएको खण्डमा पनि पुरानै ठाउँमा राख्न सकिने अवस्थामा नापी विभाग रहेको पनि उनले जानकारी दिए । नापी विभाग प्राविधिक रूपमा आवश्यक सबै तथ्याङ्क र तथ्यसहित रहेको पनि उनले स्पष्ट पार्दै उनले भने, “डिजिटल डाटाबेस तयार छ । ”

लगत लिने क्रम जारी
सन् २०१४ पछि सुस्ता र कालापानीबाहेकको क्षेत्रमा रहेका जम्मा आठ हजार ५५३ वटा पिलरको लगत लिने काम अगाडि बढाइएको हो । दुई देशको सीमा कार्यदल समूहले यसको काम गरिरहेको छ ।

सन् २०१९ सम्म सम्पूर्ण पिलरको लगत लिने काम सम्पन्न गर्न समयसीमा तोकिएको थियो । तोकिएको समय सीमासम्म काम सक्ने अवस्था नभएको हुँदा यसका लागि सन् २०२१÷२२ सम्मका लागि समयसीमा तोकिएको छ । यसको काम सकेपछि आफ्ना÷आफ्ना सरकारलाई प्रतिवेदन बुझाउनुपर्नेछ ।

नापी विभागका सूचना अधिकारी दामोदर ढकालले लगत लिने काम निरन्तर अगाडि बढिरहेको जानकारी दिँदै भन्नुभयो, “चार हजार पिलरको लगत लिने काम भइसकेको छ । दुई हजार चार सय पिलर ठूला नदीमा पर्छन् । ” सीमाक्षेत्रमा साना–ठूला गरी ५७ वटा नदी छन् । ठूला नदीको धारमा पर्ने पिलर गाड्न गाह्रो हुने स्पष्ट गर्दै उनले भने, “ठूला नदीमा समस्या देखिएको छ । ”

प्रत्येक स्तम्भको नम्बर अनुसार मर्मतसम्भार गर्नुपर्ने वा नयाँ निर्माण गर्नुपर्ने भन्ने सन्दर्भमा निर्देशनसमेत समूहले दिने गर्दछ । ठूला र साना नदी कहाँ के कस्तो स्तम्भ निर्माण गर्ने भन्ने सन्दर्भमा डिजाइनसमेत दिने गरिएको पनि उनले जानकारी दिए ।

सीमास्तम्भको लगत लिने काम करिब सकिन लागेको स्पष्ट पार्दै उनले भने, “ठूला नदीबाहेक अन्यको काम एक वर्षभित्र सम्पन्न गर्न समस्या छैन । ” पुनःनिर्माण र मर्मतसम्भार गरी गतवर्ष एक हजार ७२ वटा पिलरको काम सम्पन्न भएको थियो । गतवर्ष मेची नदीमा पाँचवटा नमुना पिलर बनाइएको थियो । नदीमा नयाँ डिजाइन गरेर गाडिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्