प्याज प्रतिकिलो २ सय रुपैयाँ

काठमाडौंः केही दिनयता डडेल्धुरा सदरमुकाममा प्याजको मूल्यमा वृद्धि भएको छ । प्याजको मूल्य आकाशिएसँगै यहाँका उपभोक्ता मारमा परेका छन् । सदरमुकाममा प्याज प्रतिकिलो दुई सय रुपैयाँमा बिक्री भइरहेको छ ।

प्याजको मूल्य बढेसँगै अहिले बजारमा माग घट्दै गएको डडेल्धुरा सदरमुकाम अमरगढी पोखराका एक व्यापारी खगेन्द्र जोशीले जानकारी दिए । प्याजको मूल्य वृद्धि भएसँगै कतिपय पसलमा प्याज पाउनै छाडेको छ । प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको प्याज एक्कासी दुई सय रुपैयाँ पुगेको स्थानीय इन्दिरा ताम्राकारले बताए ।

भारतबाट प्याजको आयात कम भएको र यहाँ पनि प्याज उत्पादनमा आएको कमीले नेपाली बजारमा प्रत्यक्ष असर परेको व्यापारीहरु बताउछन् । भारतमा ढिलो सुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्यवृद्धि भएको हो ।रासस

कमेन्ट गर्नुहोस्