१३औं दक्षिण एसियाली खेलकुदको काउन्ट डाउन सुरु

काठमाडौंः भौतिक संरचनाको निर्माण र तयारीलाई लिएर १३औं दक्षिण एसियाली खेलकुद (साग) हुन्छ वा हुन्न भन्ने दुविधा थियो । तर, पछिल्लो एक सातामा सागको माहोल विशेष रूपले तातेको छ । मंसिर १५ देखि २४ सम्म आयोजना हुने सागको पन्ध्र दिनअघि ‘काउन्ट डाउन’ पनि सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शनिबार पत्रकार सम्मेलन गरी सागको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । ‘भौतिक संरचनादेखि सबै तयारी अन्तिम चरणमा पुगेको छ । ललितपुरको हिटिङ पौडी पोखरी, दशरथ रंगशाला र पोखरा रंगशालाको निर्माणकार्य अब १० दिनभित्र सम्पन्न भइसक्ने छ । सागअघि यी स्थानमा खेलाडीलाई प्रशिक्षण गराएर मात्र साग खेलकुद सञ्चालन गरिनेछ’, पत्रकार सम्मेलनमा राखेप सदस्यसचिव रमेशकुमार सिलवालले भने ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले दक्षिण एसियाका सातवटै देशको सहभागिता निश्चित भएको र खेलाडी तथा पदाधिकारीको ‘अफिसियल इन्ट्री’ बुधबारसम्म पूरा हुने बताए । श्रेष्ठले प्याराग्लाइडिङ खेल समावेश हुने विषयमा अझै छलफल भइरहेको जानकारी दिए ।

सदस्यसचिव सिलवालले सागको उद्घाटन, आयोजना र समापन भव्य रूपमा हुने प्रतिबद्धता जनाए । दशरथ रंगशालामा हुने उद्घाटन सत्रमा पन्ध्र हजार कलाकारले सातवटै प्रदेशको कला र संस्कृति झल्कने प्रस्तुति दिनेछन् । उद्घाटन सत्र सवा ३ घण्टाको हुनेछ । अन्नपूर्ण पोष्ट् दैनिकबाट

कमेन्ट गर्नुहोस्