पार्टी एकताको दिशामा महत्त्वपूर्ण कदम; नेकपाको पोलिटब्यूरो गठन आज

काठमाडौँ, गत वर्ष नै पार्टी एकता घोषणा गरेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पोलिटब्यूरो गठन गर्ने भएको छ । पोलिटब्यूरो गठनकै लागि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे डाकिएको सचिवालय बैठकले पोलिटब्युरो गठन गर्न लागेको हो ।

नेकपाको पार्टी विधानमा नै कुल केन्द्रीय सदस्य संख्याको एक तिहाइ सदस्य रहने गरी पोलिटब्युरो सदस्य हुने व्यवस्था छ । तर अहिलेसम्म नेकपाले पोलिटब्युरो गठन गर्न सकेको छैन ।

आजको बैठकमा पोलिटब्यूरो गठन हुने सचिवालय सदस्य माधवकुमार नेपालले जानकारी दिए । नेपालले भने ‘आज बस्ने सचिवालय बैठकमा पोलिटब्युरो बनाउने, सबै निकायहरूलाई पूर्णता दिने, प्रवासमा भएका र विदेशमा भएका संगठनको एकताको काम पूरा गर्नेगरी छलफल हुनेछ ।’

विधान अनुसार नेकपाको पोलिटब्युरो कुल केन्द्रीय सदस्यको एकतिहाई १ सय ४७ जना पोलिटब्युरो सदस्य हुने छन् । जसमा तत्कालिन एमालेबाट ८१ जना र तत्कालिन माओवादी केन्द्रबाट ६६ जना चयन हुनेछन् ।

दुवै पक्षका वरिष्ठ नेताहरूमध्येबाट पोलिटब्युरो बनाउने तयारी छ । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले वरिष्ठ नेताबाट पोलिटब्यूरो चयन हुने जानकारी दिए ।

पछिल्लो समयमा नेतृत्वहरू एकल र सामुहिक रूपमा पार्टी र सरकार संचालनको विषयमा छलफल गर्दै आएका छन् ।

 

कमेन्ट गर्नुहोस्